दुलेगाैडा : कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलदै गएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकामा नियन्त्रणका लागि सोमबार सर्वदलीय बैठक बसेको छ ।
झरौटामा भएको बैठकले गत वर्ष क्वारेन्टिनका लागि बनाएको ठाडोखोला खानेपानी उपभोक्ता समितिको भवनलाई आइसोलेशन वार्ड बनाउने निर्णय गरेको छ । शुक्लागण्डकी–५ झरौटामा शिवपञ्चायन मन्दिरसँगै रहेको उक्त भवनमा ३० बेडको आइसोलेशन बनाउने निर्णय भएको उपप्रमुख सविता रसाईलीले बताउनुभयो । होम आइसोलेशनमा बस्न मिल्ने अवस्था नभएकालाइ वडाको सिफारिसमा यहाँको आइसोलेशनमा राखिने उहाँले बताउनुभयो ।
यस्तै, कोरोनाका गतिविधि नियमन तथा व्यवस्थापन गर्न नगर प्रवक्ता खिमबहादुर कुमालको संयोजकत्वमा ७ सदस्यीय कोरोना व्यवस्थापन तथा अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यमा कार्यपालिका सदस्य विष्णुमाया ढकाल, वडा सदस्य सन्तोष श्रेष्ठ, पदमराज तिमिल्सिना, बुद्धिबहादुर थापा, राजेन्द्र क्षेत्री रहनुभएको छ । सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुखलाइ राखिएको छ ।
दीर्घ रोगीलाई नगरपालिकाले निशुल्क यातायातको व्यवस्था गर्ने निर्णय समेत भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको मृत्यु भएमा शुक्लागण्डकी –४ र ५ को बीचमा पर्ने कसेरीघाटलाई प्रयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।