घिरिङ र ऋषिङमा पनि आजदेखि निषेधाज्ञा लागू
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    घिरिङ र ऋषिङमा पनि आजदेखि निषेधाज्ञा लागू

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले घिरिङ र ऋषिङ गाउँपालिकामा पनि आज निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार घिरिङ र ऋषिङका सम्पूर्ण भागमा आजदेखि निषेधाज्ञा आदेश जारी भएको हो ।

    यसअघि जिल्लाका आठ स्थानीय तह र ऋषिङ गाउँपालिका–१ मा मात्रै निषेधाज्ञा गरिएको थियो । कोभिड सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

    यसअघि खाद्यान्नका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ने भनिएकामा अब बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खुल्नेछन् । कार्यालयका अनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना, पशुपंक्षीको उत्पादन र विक्री वितरण र निर्माण सामग्री पसल खुल्नेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, ग्यास, पेट्रोलियम पदार्थ, खानेपानी, औषधी तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, दुरसञ्चार, फोहरमैला व्यवस्थापन, बैङ्कको एटिएम सेवा, डाँक सेवा र सार्वजनिक निर्माण सम्बन्धी कार्य सञ्चालन गर्न पाइन्छ ।

    त्यस्तै माथि उल्लेखित भएका बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाइनेछ ।