दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको नवौ नगरसभा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न बिहीबार बोलाइएको नगरसभा शोक प्रस्ताव गरी स्थगित भएको हो ।
शुक्लागण्डकी–६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थागित भएको हो । थापाको निधनमा नगरसभामा एक मिनेट मौन धारण समेत गरिएको छ ।
नगर सभा सदस्य बुधबार ६५ वर्षको उमेरमा निधन भएको छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । १५ दिन अगाडी कोरोना पुष्टि भएपछि उहाँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा उपचार भइरहेको थियो । अवस्था जटिल बन्दै गएपछि उहाँलाई पोखरा रिफर गरिएको थियो । पछिल्लो समय कोरोना रिपोर्ट नेगेटिभ आएपनि उहाँको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । बुधबार नै शुक्लागण्डकीको दोभान घाटमा उहाँको अन्त्येष्टि गरिएको छ ।
नगरसभाको अर्को मिति भने तोकिएको छैन । बिहीबार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण गर्ने तय भएको थियो । यद्यपि नीति, कार्यक्रम तथा बजेट वाचन नगरेतापनि उपस्थित नगरसभा सदस्यलाई भने उपलब्ध गराइएको छ । नीति, कार्यक्रम तथा बजेटको अध्ययन गरी सुझाव दिन नगरप्रमुख किसान गुरुङले नगरसभा सदस्य समक्ष आग्रह गर्नुभयो । “संवैधानिक व्यवस्था अनुसार नीति, कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थियौँ । नगरसभा सदस्यको मृत्यु भएकाले आजलाई स्थगित गरेका छौ । अब अर्को मिति तोकेर नीति, कार्यक्रम तथा बजेट उफर छलफल थाल्नेछौ,” उहाँले भन्नुभयो ।
यस्तै वडा सदस्य थापाको निधनमा नगरपालिकाको कार्यालय र वडा कार्यालय पनि आधा दिन बन्द गर्ने निर्णय गरिएको छ । बिहीबार दिउँसो १ बजेदेखि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।