काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।
यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्नुभएको थियो भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिनुभएको थियो ।
तर ओली र नेपाल आ–आफ्नो अडानमा कायमै हुनुहुन्छ । अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राख्नुभएको थियो । उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिनुभएको छ । (अनलाइन खबरबाट)