आँबुखैरेनीमा दर्ता शिविर शुरु, पहिलाे दिन १७ जनाकाे घटना दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा दर्ता शिविर शुरु, पहिलाे दिन १७ जनाकाे घटना दर्ता

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, सोमबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा घटना दर्ता शिविर आइतबारदेखि शुरु भएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकको व्यक्तिगत घटना दर्ताका लागि गाउँपालिकाले शिविर आयोजना गरेको हो ।

    गाउँपालिकाका ६ वटै वडामा एकैसाथ शिविर शुरु भएको छ । आइतबार आँबुखैरेनी वडा नं १ को समस्तीपुर, वडा नं २ को सहकारी टोल, वडा नं ३ को ज्यामस्वारा, वडा नं ४ को बेनीटार, वडा नं ५ लाब्दी र वडा नं ६ को हिलेखर्कमा शिविर सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उक्त ठाउँमा सोमबार पनि शिविर सञ्चालन हुनेछ ।

    शिविरमा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले सर्वसाधारणलाई घटना दर्ता प्रमाणपत्र प्रदान गर्नुभयो ।

    दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले आग्रह गर्नुभएको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराई) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ ।

    व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ ।

    शिविरकाे पहिलाे दिन १७ व्यक्तिगत घटना र ९ गुनासाे दर्ता भएकाे गाउँपालिकाका सूचना प्रविधि अधिकृत निराेज श्रेष्ठले जानकारी दिनुभयाे ।

    आँबुखैरेनी–१ को समस्तीपुर, याञ्चोक, भुजेलगाउँ, वडा नं २ को सहकारी टोल, तिलबारी, एक्लेफाँट, वडा नं ३ को ज्यामस्वारा, पानीघट्टा, रामशाह टोल, वडा नं ४ को बेनीटार, भाँगे, पाँचकिलो, वडा नं ५ को लाब्दी, सानोभञ्ज्याङ, भालुढुङ्गा र वडा नं ६ को हिलेखर्क, प्युघरफाँट र पुर्लुङमा शिविर सञ्चालन हुनेछ । शिविर २५ गतेसम्म सञ्चालन हुनेछ ।