


ऑबुखैरेनी : ऑबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको घटना दर्ता शिविरमा बुधबार मात्रै ६७ व्यक्तिगत घटना दर्ता भएको छ । गाउँपालिकाले आइतबारदेखि ६ वटै वडामा दर्ता शिविर सञ्चालन गरेको छ ।
ऑबुखैरेनी-१ स्थित याञ्चोकमा तीन, ऑबुखैरेनी-२ तिलबारीमा ६, ऑबुखैरेनी-३ ज्यामिरेमा दुई, ऑबुखैरेनी-४ भॉगेमा १८, ऑबुखैरेनी-५ सानोभन्ज्याङमा ११ र ऑबुखैरेनी-६ पुर्लुङमा २७ व्यक्तिगत घटना दर्ता गरिएको सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै ऑबुखैरेनी-५ मा एक र ऑबुखैरेनी-६ मा दुई सामाजिक सुरक्षा भत्ताका लागि विवरण दर्ता भएको छ । मङ्गलबारसम्म ८६ जनाले व्यक्तिगत घटना दर्ता गराएका थिए ।
दर्ता शिविरमा सहभागी भई विवरण बुझाई घरदैलो सेवाको लाभ लिन गाउँपालिकाले आग्रह गरेको छ । शिविरका क्रममा पायक पर्ने स्थानमा गई व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराइँ) को विवरण लिने तथा सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका लाभग्राहीको विवरण सङ्कलन गरिन्छ । व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता बनाउन, नाबालक राष्ट्रिय परिचयपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै राज्यबाट पाउने सेवा, सुविधा र हक स्थापना गर्न आवश्यक पर्छ । शिविर असार २५ गतेसम्म सञ्चालन हुनेछ ।