म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो ।
विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी सामूहिक खेती गरिएको वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार रु आठ लाख २५ हजारमा खेत बन्धकीमा खरिद गरी २५ जनाले त्यस खेतमा तीन वर्षदेखि खेती गरिरहेका छन् । “सामुदायिक वनमा आबद्ध विपन्न सदस्यलाई जीविकोपार्जनमा सहयोग पु¥याउन यो कार्यक्रम सञ्चालन गरेका हौ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार यस खेतमा वर्षमा तीन पटक खेती गरिन्छ । वनका उपभोक्ताले यहाँ गहुँ, चैते र असारे धान रोप्दै आएका छन् । “चैते धान थन्क्याएर अब असारे धान रोप्न शुरु भएको छ,” उहाँले भन्नुभयो, “यहाँ खेती गरेर एक जनाले वार्षिक करिब दश मुरी धान उत्पादन गर्ने गरेका छन् ।”
सामुदायिक वनको कार्ययोजना अनुसार न्यून आय भएका उपभोक्तालाई सामूहिक खेतीका लागि छनौट गरिएको छ । दैनिक ज्याला गरेर गुजारा गर्ने उपभोक्ता यसका लागि छनौट हुन्छन् । “ज्यालादारी गरेर बिहान बेलुका छाक टार्नेलाई केही सहयोग होस् भन्नका लागि सामूहिक खेती गर्नका लागि खेत उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो, “यहाँबाट उत्पादित धानले उनीहरुलाई चामल खरिद गर्न परेको छैन ।”
वन समूहमा आबद्ध विपन्न समुदायलाई सामूहिक खेतीमा सहभागी गराउन सार्वजनिक सूचना टाँस गरेर निवेदन आह्वान गरिन्छ । निवेदन पेश गरिसकेपछि वन समूहले न्यून आय भएका उपभोक्ता छनौट गर्छ । खेती गर्नका लागि उपभोक्ताले रु ५० को निवेदन र धरौटी बापत रु एक हजार जम्मा गर्नुपर्ने प्रावधान बनाइएको छ । “छनौट भएर बीचैमा नछाडुन् भन्नका लागि धरौटी राखिएको हो, पछि उपभोक्तालाई नै त्यो रकम फिर्ता गर्छौ,” खनालले भन्नुभयो ।
उक्त सामुदायिक वनमा दुई सय ८५ उपभोक्ता आबद्ध छन् । त्यसमध्ये राममाया सुनार, टेकबहादुर कामी, उमा सुनार, कुसु सुनार, मनि परियार, भावना सुनार, मनु आले , गुनीमाया बाचे लगायतले यो वर्ष सामूहिक खेती गरेका छन् । “प्रत्येक एक÷एक वर्षमा खेती गर्नका लागि निवेदन माग्छौ, एक पटक गरेकाले अर्को पटक गर्दिन भन्न पनि पाउँछ, त्यस्तो भएको खण्डमा अर्को उपभोक्ताले मौका पाउँछ,” उहाँले भन्नुभयो, “नभए उही उपभोक्ता दोहोरिन पनि सक्छ ।”
स्थानीय राममाया सुनारले आफ्नो खेतबारी नभएकाले सामूहिक खेती गर्न पाउँदा सहज भएको बताउनुभयो । “खेतीपाती गर्नलाई खेत छैन, वनले उपलब्ध गराइएको खेतमा खेती गरेर उत्पादन लिएका छौ, जीविकोपाजर्नका लागि सहयोग पुगेको छ,” सुनारले भन्नुभयो ।
सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बन्धकीमा खेत गरी सामूहिक खेती गरिएको तनहुँमै पहिलो र नमूना कार्यक्रम भएको बताउनुभयो । “सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम उपभोक्ताको आयआर्जनमा खर्च गर्नुपर्ने प्रावधान छ, सोही बमोजिम यो सामुदायिक वनले नमूना कार्य गरेको छ,” रानाभाटले भन्नुभयो, “यसले वनका विपन्न समुदायको आयआर्जनमा सघाएको छ ।”
उहाँका अनुसार यहाँबाट उत्पादन हुने धानले सानो परिवारका लागि चामल किन्न पर्दैन । “ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उपभोक्ताले यसले ठूलो राहत मिलेको छ,” रानाभाटले भन्नुभयो । वनमा आबद्ध उपभोक्तालाई समृद्धितर्फ उन्मुख गराउने यो नमूना कार्य भएको रानाभाटले बताउनुभयो ।