दसैं सकियो, गाउँ रित्तियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दसैं सकियो, गाउँ रित्तियो

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७८, मंगलवार

    दुलेगाैडा : भिमाद नगरपालिका–१ हुक्कामा दशैँको दिनसम्म खुब चहलपहल थियो । गाउँका सबैजसो घरका सदस्य दशैँ मनाउनलाई घर फर्किएका थिए । पढाई, जागिर र सुखसयल खोज्दै बजार झरेकाहरु दशैँ मनाउन गाउँ फर्किएका हुन् ।

    अरु बेला सुनसान हुने गाउँको हर घरमा सपरिवार भेला हुदाँ रौनक छुट्टै थियो । तर, त्यो रौनक दशैँको दिनदेखि हराउदैँ गयो । हुक्काका एकबहादुर झेडी मगर भन्छन्, ‘छोरा बुहरी नाती नातिना दशैँ मनाउन गाउँ आएका थिए । दशैँ मनाएर फर्किसके । अहिले घरमा बुढाबुढी मात्रै छौँ । उनीहरु हुदाँसम्म खुब रमाईलो थियो । अहिले घर शुन्य भएको छ ।’ विदेश भएका नआएपनि बजार झरेका परिवारका सबै सदस्य आएको उनले सुनाए ।

    झेडीको घरमा मात्रै होईन् यहाँका अधिकांश घरको कथा यस्तै हो । दशैँ मनाउन आएका आफन्तजन फर्किएपछि गाउँघर सुनसान बनेका छन् । ‘छरछिमेक जताततै रमाईलो थियो । अब फेरी त्यस्तै चहलपहल र रमाईलो हुन त अर्को दशैँ कुर्नुपर्छ’, उनले भने । कहिलेकाहीँ पुजाआजा हुदाँ पनि आफन्तसँग भेटघाट त हुन्छ । तर, गाउँका सबै जना भेट्नलाई दशैँ नै कुर्नुपर्ने उनले बताए ।

    दशैँ मनाउन आएका सबै जना फर्किएपछि अहिले गाउँ सुनसान भएको स्थानीय कल्पना केसीले बताईन् । ‘सबै घरमा दशैँ मनाउनलाई परिवार जुटेका थिए । दशैँको टिका लगाएपछि फर्कन थालेका हुन् । पुर्णिमाको दिनसम्म सबै फर्किए । अहिले पहिला जस्तै धेरै जसो घरमा बुढाबुढी एक्ला भएका छन्’, उनले भनिन् ।

    हुक्का त केबल प्रतिनिधिमूलक गाउँ हो । तनहुँका हरेक गाउँको अवस्था त्यस्तै छ । ग्रामिण भेगमा पर्ने अधिकांश गाउँ दशैँ सकिएसँगै रित्तिएका छन् । दशैँ मनाउनलाई घटस्थापनाको दिनदेखी गाउँ उक्लनेको लर्को टिकाको दिन विहानसम्म पनि थियो । मन्यजनको हातबाट टिका आर्शिवाद थापेपछि गाउँ आएकाहरु फर्कन थाले । पुर्णिमाको दिन दशैँ समापन भएसँग गाउँ सुनसान हुन थालेको हो ।

    ऋषिङ गाउँपालिका–६ दुकुडाँडाकाका दानबहादुर आलेका अनुसार गाउँ फेरी एक्लिएको छ । गाउँमा अब बुढापाका मात्रै छन् । ‘दशैँमा गाउँका सबै आफन्तसँग भेटघाट हुन पाईयो । माहोल रमाईलो थियो । टिका थापेपछि फर्कनको क्रम सुरु भयो । हिजोसम्म फर्कनुपर्ने सबै फर्किसके । गाउँ फेरी एक्लिएको छ’, उनले भने । गाउँ छोडेकाहरु केही फेरी तिहारमा फर्कन्छन् । दशैँमा जस्तो सबै जना गाउँ नआउने उनले बताए । उनका अनुसार बर्षेनी गाउँ रित्तिदै छ । गाउँको मायाले छोड्न नसक्नेहरु मात्रै गाउँमा बसेका छन् । गाउँमा सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध भए गाँउ छोड्ने क्रम रोकिने आलेको विश्वास छ ।

    बसाई झरेका, पढाई र रोजगारको शिलशिलामा शहर पसेका दशैँमा मान्यजनको हातबाट टिका र आर्शिवाद ग्रहण गर्नलाई गाउँ फर्कन्छन् । जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाम दमौली, दुलेगौँडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनी, भिमाद लगायतका बजार झरेका छन्् । यस्तै काठमाडौँ, पोखरा र चितवन लगायत स्थानमा बसाई सरेका छन् । बजार गुल्जार हुदाँ गाउँ निर्जन हुदैँछ । तनहुँका १० स्थानीय तहमध्ये ऋषिङ, घिरिङ, आँबुखैरेनी र देवघाट गाउँपालिका ग्रामिण भेगबाट बजार झर्ने प्रचलन अलिक बढी छ । अरु स्थानीय तहका ग्रामीण बस्ती पनि रित्तिदै छन् । बुढापाकाले धानेका छन् गाउँघर अनि खेतीपाती ।

    २०७२ सालको विनाशकारी भुकम्पपछि शहर बजार पसेकाहरु धमाधम गाउँ फर्किएका थिए । त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम बढेपछि सुरक्षित हुने भन्दै २०७६ को चैत दोस्रो साता पनि गाउँको फर्कने लर्को थियो । त्यतिबेला फर्किएका केही त अब शहर नफर्कने प्रण गरेर गाउँमै बसेका छन् ।

    दशैँको बेला बाहेक गाउँ फर्कनेको लर्को लागेको पछिल्लो दशकमा भुकम्प र कोरोनाको बेला मात्र हो । नत्र शहर झरेकाहरुको गाउँ फर्कने लर्को हरेक बर्ष दशैँको अगाडी मात्र हुन्छ । जब दशैँ सकिन्छ फेरी फर्कन्छन् शहर बजार र गाउँ रित्तिन्छ, एक्लिन्छ ।