जनयुद्धका पीडित भन्छन्, ‘नेता सत्तामा पुग्ने भर्‍याङमात्रै भइयो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनयुद्धका पीडित भन्छन्, ‘नेता सत्तामा पुग्ने भर्‍याङमात्रै भइयो’

    विनोद ढुंगाना

    ८ मंसिर २०७८, बिहीबार

    दुलेगौडा : ९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फुलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराऊ गरे। कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो। फुलबारी ब्यारेकबाट क्याप्टेन उत्तम थापा क्षेत्री नेतृत्वमा आएको टोलीले टंकप्रसाद सहित सुकुम्बासी बस्तीबाट नौ जनालाई हातखुट्टा बाँधेर आँखामा कालोपट्टी लगाएर कुट्दै लगे। 

    पक्राउ परेको केही दिनअगाडि गगनगौँडामा रहेको प्रहरी बिटमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो। आक्रमणमा संग्लन भएको आंशकामा सकुम्बासी बस्ती छिरेर सोधपुछका लागि नौ जनालाई सेनाले पक्रिएको थियो। पक्राउ परेका अरु आठ जनालाई सेनाले छाडिदियो, घर फर्किए।  सोधपुछ गरेर पठाइदिन्छौ भनेर सेनाको टोलीले लगेको टंकप्रसादलाई २० बर्षदेखि फिर्ता गरेको छैन । उनी अझै वेपत्ता छन्। न उनको लास भेटिएको छ न त सास नै।

    ‘फुलबारी ब्यारेकमा लगेछ भन्ने थाहा भएपछि दिनदिनै जसो ब्यारेकको गेटमा पुगेर उहाँको अवस्था के छ भनेर सोधपुछ गर्थे। यहाँ ल्याएको छैन भनेर जवाफ दिन्थे,’ टंकप्रसादकी पत्नी आरती शर्मा सम्झन्छिन्। आरतीले १० बर्षे सशस्त्र जनयुद्धका बेला वेपत्ता पारिएका श्रीमान खोज्दा खोज्दै २० बर्ष बिताएकी छन्। पुग्नपर्ने ठाउँ पुगिन्, भेट्नुपर्ने मान्छे भेटिन उनले। तर अझै पनि श्रीमानको केही पत्तो पाएकी छैनन्। टंकलाई पक्रेर लग्ने सुरक्षाकर्मीविरुद्ध आरतीले पटक पटक जाहेरी दिन खोज्छिन्। प्रहरीले इन्कार गर्छ। न्याय माग्दै अदालतको ढोका ढक्ढक्याउँदा पनि उनको चित्कार सुनिँदैन ।

    जतिबेला टंकप्रसाद पक्राउ परेका थिए त्यतिबेला नेकपा माओवादी शसस्त्र द्वन्द्वमा होमिरहेको थियो।  ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरी १० बर्षे द्वन्द्वकालको समापन गर्दै माओवादीले हतियार बिसाएको थियो। हतियारको राजनीति छाडेर माओवादीले शान्ति सम्झौता रोजेको आइतबार १५ बर्ष पुगेको छ।

    यो अवधीमा माओवादी केन्द्रले पटक–पटक सत्ताको स्वाद चाख्यो। जुन पार्टीमा लागेको आशंकामा टंकप्रसाद वेपत्ता भए त्यही पार्टी सत्ताको भर्‍याङ चढ्दा अपेक्षा गरेजस्तो आफ्नो घाउमा मल्हम लगाउने काम नगरेको आरती बताउँछिन्। वेपत्ताको स्थिति सार्वजनिक गर्नलाई पहल नभएको उनको गुनासो छ। २०औँ बर्षसम्म वेपत्ताको स्थिति सार्वजनिक नहुँदा चर्किरहने आलो घाउ बनरे विझाइरहेको छ। घाउलाई निको पार्ने मल्हम लगाउने भूमिका राज्य र पार्टी दुबैले नखेलेको उनको भनाइ छ। ‘हामीले गर्दा नै नेता सत्तामा पुगे। हामी नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङमात्र भइयो। सबै पार्टीका नेता मिलेर वेपत्ताको खोजी गर्ने हो भने समय लाग्दैन । वेपत्ताको स्थिति पत्ता लगाउन सकिहाल्छन् नि,’ उनले भनिन्। 

    वेपत्ता छानविन आयोगले केही गर्ला भनेर आशा पलाएको थियो रे उनलाई। तर आयोगले पनि गर्न केही सकेन सोधपुछबाहेक। ‘आयोग बने पनि पनि काम गर्दागदै समय सकिन्छ, थप हुँदैन । आयोगसँग आश लागेको थियो हामीले चाहेको होला भनेर। त्यत्तिकै भयो,’ आखाँबाट आसु खसाल्दै उनी भन्छिन्, ‘कम्तीमा भए सास, नभए लास मात्रै दिए पनि ढुक्क हुन्थ्यो। काजकिरिया गर्न त पाइन्थो।’

    आरती आफ्ना श्रीमान एक दिन अवश्य फर्किआउने आशा बोकेर बाँचिरहेकी छन्, खोजिरहेकी छन्। श्रीमानलाई सेनाले पक्रेर लगेको खुदीखोलाको सकुम्बासी बस्तीबाट आरती हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बसाई सरेकी छन्। सरकारले बेपत्ता परिवारलाई दिएको १० लाख रुपैयाँ राहतमा थपथाप गरेर पृथ्वी राजमार्गको छेउैमा घर बनाएकी छन्। गुजारा चलाउनलाई घरमै किराना पसल चलाउँछिन्। दिनभरजसो उनी पसलमै भेटिन्छन्। जतिबेला पनि उनको नजर घर अगाडिको पृथ्वी राजमार्गमा हुईकिएका सवारीतिर परिरहन्छ। ‘कुनै दिन यहीँ बाटो गुडिरहेको गाडीबाट झरेर आरती म आए भन्दै टंक आउनेछन्,’  उनीसँग यही आशाको त्यान्द्रो सहारा बनेको छ। 

    शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका श्रीराम घिमिरे पनि २२ बर्षदेखि बेपत्ता छन्। माओवादीको जनयुद्धमा होमिएका उनलाई १ बैशाख २०५६ मा दंगा प्रहरीले तनहुँको वरभञ्जयाङ नागनागिनीबाट नियन्त्रणमा लिएर वेपत्ता बनाएको हो। वेपत्ता भएको २२ बर्षसम्म श्रीमती सर्वदा खनाल श्रीमानको अवस्था सार्वजनिक गर्न माग गर्दै नपुगेको निकाय सायदै होला। 

    सर्वोच्च अदालतको शरणमा पनि पुगिछन् एकपटक। सर्वोच्चले उनलाई लाजमर्दो जवाफ दिएछ, ‘आफ्नो मान्छे आफैँ खोज्नुहोला’ ।  ‘त्यतिबेलाको सरकारले नबोलेपछि सधैँभरी घाउ आलो भइरहेको छ। सास रहुन्जेल आश हुन्छ भनेझैं भइरहेको छ। वेपत्ताको अवस्था सार्वजनिक गर्न पार्टीले पनि राम्रो भूमिका खेलेन्।  सरकारमा गएपछि एउटा पोल खुल्दा अर्को पोल पनि खुल्छ भनेर हो कि ?’ उनको आशंका छ। 

    श्रीमान कहाँ होलान ? अवस्था के होला ? उनलाई सधैँभरी छट्पटि भइरहन्छ। अवस्था सार्वजनिक गरेर पीडितलाई राहत र पीडकलाई कारवाही नभएसम्म सन्तोष नमिल्ने उनको भनाइ छ।  ‘कस्ले गिरफ्तार गर्‍यो ? कहाँ लगियो सबै प्रमाण दिएका पनि छौं । वेपत्ता छानविन आयोगले पनि काम गर्न सकेन्। सत्यतथ्य बाहिर आएन। कहाँनेर के अड्कियो बुझ्न सकेका छैनौं,’ उनले भनिन्।

    १० बर्षे सशस्त्र जनयुद्धमा तनहुँका ६६ जना शहीद बने। १७ जना विद्रोही र राज्यपक्षबाट बेपत्ता भएका छन्। चार जना जिल्ला बाहिरका तनहुँबाट बेपत्ता भएको तथ्यांक छ। विद्रोही पार्टी नेकपा माओवादी र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो। शान्ति सम्झौता भएर विद्रोही पार्टीले सत्तारोहण गर्दा शहीद, वेपत्ता र द्वन्द्व पीडित परिवारमा आशा पलाएको थियो वेपत्ताको खोजविन र अवस्था सार्वजनिक होला भनेर। आशा अहिले निराशामा बद्लिएको छ।  

    शहीद, बेपत्ता नागरिक, पूर्व लडाकु, द्वन्द्वमा घाइते भएकाको समस्या जस्ताको तस्तै छ अझै पनि। केवल उनीहरु नेता सत्तारोहणको भर्‍याङमात्र सावित भएका छन्। राज्यले वेपत्ता नागरिकको लागि काम गर्नै नसकेको बताउँछन् वेपत्ता परिवारका सदस्य भानु नगरपालिका–१ भन्सारका रामचन्द्र मिश्र। ‘वेपत्ता परिवारको अपेक्षाअनुसार काम भएन । राहत दिने काम भयो। खोजविन गर्ने काम धिमा गतिमा भएको छ।  यो १५ वर्षमा त अवस्था के छ पत्ता लगाई दोषीलाई कारवाही गर्नुपर्ने थियो। यदि राज्यले चाहेको भए यो काम गर्न सक्थ्यो पनि। पार्टीले पनि राज्यलाई झक्झकाई रहनुपर्ने। त्यसो हुन सकेन’, मिश्रले भने।