पोखरा लैजान्छु भन्दै दिदी-बहिनीलाई भारतको कोठी पुर्‍याएको आरोपमा एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखरा लैजान्छु भन्दै दिदी-बहिनीलाई भारतको कोठी पुर्‍याएको आरोपमा एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७८, बुधबार

    काठमाडाै । पोखरा लैजान्छु भन्दै दिदी-बहिनीलाई बेहोस बनाई भारतको कोठीमा पुर्‍याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    मानव बेचबिखन अनुसन्धान अनुसन्धान ब्युरोले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ की २६ वर्षीया अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। 

    उनलाई ब्युरोको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पुस ९ गते पक्राउ गरेको हो। 

    उनले दुई बालिकालाई पोखराको होटलमा नाच्ने र अरू समयमा घरायसी काम गर्ने भन्दै भारतसम्म पुर्‍याएको आरोप छ। भारत पुर्‍याउँदा दिदी १३ वर्ष र बहिनी ११ वर्षकी थिइन्।

    पोखरामा त्यसरी काम गरे राम्रो कमाइ हुने आश्वासन दिएपछि ती पीडित बालिकाहरूलाई उनले २०७४ साल साउनको अन्तिममा काठमाडौंको आकाशेधारामा बोलाएको प्रहरी उपरीक्षक धमलाले बताए। 

    उनका अनुसार त्यहाँको एउटा होटलमा लगेर दिदीबहिनीलाई चाउमिन खुवाएका थिए। जुन खाएपछि तिनीहरू बेहोस भए।

    त्यहाँबाट अनिशाले उनीहरूलाई ट्याक्सीमा चढाएर नयाँ बसपार्क पुर्‍याएको प्रहरीले जनाएको छ।

    नयाँ बसपार्क पुग्दा उनीहरूलाई होश आएको थियो। तर फेरि अनिशाले कोकमा नशालु पदार्थ मिसाएर खुवाएर बेहोश बनाएको आरोप छ। 

    त्यसरी अनिशाले पोखरा लग्छु भनेर भारतसम्म पुर्‍याएको जाहेरीमा उल्लेख गरिएको छ। 

    भारतमा लगेर दुबै दिदी-बहिनीलाई छुट्टाछुट्टै राखेर ६ महिनासम्म विभिन्न पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न लगाएको प्रहरी उपरीक्षक धमलाले बताए। 

    त्यहाँको कोठी सञ्चालिकाले पनि उनीहरूलाई अनिशाबाट तीन-तीन लाखमा किनेको भन्दै शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित महिलाहरूले बताएका छन्। 

    उनीहरूलाई भारतको बम्बई, इलाबाद, कलकत्ता तथा कुचविहारको कोठीहरूमा पुर्‍याइ पटक-पटक बेचबिखन गरी वेश्यावृत्तिमा लगाइएको थियो। 

    एक दिन पीडित बहिनीलाई कोठी सञ्चालिकाले बजारमा खाजा लिन पठाएका थिए। त्यही मौका छोपेर उनी भागिन्। 

    भागेर ती बालिका सिलगुढीको एक मोबाइल पसलमा काम गर्न थालेकी थिइन्। उनले मोबाइल पसलमा काम गरेर केही पैसा कमाएपछि नेपाल फर्किन लागेकी थिइन्। 

    तर सीमामा भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर उनीलाई दार्जिलिङको खोरीबारी प्रहरी थानाबाट सेफहाउसमा पठाइएको थियो। 

    भारतस्थित नेपाली दूतावासमा खबर भएपछि नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा उनलाई असोज २३ गते नेपाल फर्काइएको थियो। 

    नेपाल फर्किएको दुई महिनापछि मंसिर २२ गते उनले ब्युरोमा अनिशाविरूद्ध जाहेरी दिएका थिए। बहिनी भागेर नेपाल फर्किए पनि दिदी भने अझै बेपत्ता छिन्। उनी अझै पनि कहाँ छिन् भन्ने नखुलेको ब्युरोले जनाएको छ। 

    अहिले अनिशामाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान अघि बढाएको छ। (सेताेपाटीबाट)