दमौली । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ ले कोषाध्यक्ष र प्रवक्ता मनोनित गरेको छ । कोषाध्यक्षमा व्यास-२ निवासी पविन्द्र भट्टराई मनोनित भएका छन्।
यसैगरी प्रवक्तामा व्यास-८ का हरिप्रसाद मिश्र मनोनित भएका छन् । क्षेत्रीय समितिको पहिलो बैठकबाट यो निर्णय भएको सहसचिव शैलेश खातीले जानकारी दिए ।
बैठकले क्षेत्र न १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउँपालिकाभित्र रहेका नेपाली कांग्रेसका नगर कार्य समिति, गाउँपालिकी कार्य समिति र वडा कार्यसमितिलाई सक्रिय बनाउदै छुटेका मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि सहयोग गर्ने निर्णय गरेको छ ।
सभापति श्याम कुमार मौरतीको सभापतित्वमा बसेको बैठकले क्षेत्र न १ अन्तर्गत रहेका ४२ वटै वडामा टोलकार्य समिति यथासक्य छिटो सम्पन्न गर्नको लागि नगर एवं गाउँपालिका सभापति र वडा सभापतिहरुलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
बन्दीपुर गाउँपालिका- ६ हुस्लाङमा भएको जीप दुर्घटनामा परि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि बहादुर न्यौपाने र उनकी धर्मपत्नी सुशीला न्यौपाने लगायत ६ जनाको मृत्यु भएको घटनामा बैठकले दुख व्यक्त गरेको छ।