दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकमा सङ्कट आइपरेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका प्रशंसनीय रहँदै आएका बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि दमौलीमा सुरु भएको आठौ तनहुँ महोत्सवमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्कटको घडीमा देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
सबैलाई मिलाएर लैजान सक्ने अडान देउवामा रहेको भन्दै मन्त्री श्रेष्ठले देउवाको प्रशंसा गरे । एमसिसी पारित गराउन देउवाले खेलेको भूमिकाले अन्तर्राष्ट्रिय स्तरमा उनको छवि उच्च भएको मन्त्री श्रेष्ठको भनाई थियो ।
मन्त्री श्रेष्ठले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकार लागिपरेको बताए । देशमा पर्याप्त रोजगारी नहुँदा युवाहरु विदेशिनुपरेको बताउँदै उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।
आगामी चुनावमा पनि गठबन्धन कायम गर्नुपर्छ भन्ने जनताको चाहना रहेको बताउँदै उनले यही गठबन्धनले मुलुकमा विकास र सुशासन कायम गर्ने बताए ।