आठाै तनहुँ महाेत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने – महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आठाै तनहुँ महाेत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने – महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७८, बिहीबार

    दमाैली । प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि दमौलीमा सुरु भएको आठौ तनहुँ महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिडले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सवले सहयोग पुग्ने बताए ।

    आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थकसिद्ध हुने बताउँदै देउवाले भने, “कोभिडले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।” हरेक नेपालीलाई कोभिड खोप लगाइएकाले नेपालीमा आत्मबल बढेको प्रधानमन्त्री देउवाको भनाई थियो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुको प्रचारप्रसार र बजारीकरणमा महोत्सवले सहयोग पुग्नुपर्ने प्रधानमन्त्री देउवाको जोड थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसूँ बसूँ बनाउनुपर्ने बताए । तनहुँमा विकासका काम अलपत्र परेको बताउँदै पौडेलले अलपत्र परेका कामलाई निरन्तरता दिनुपर्ने अवस्था आएको उल्लेख गरे ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशी तथा बाह्य लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकार विकास र समृद्धिको पक्षमा लागिपरेको बताए । वैदेशिक रोजगारीमा भएका बेथिती हटाउन आफू लागिपरेको बताउँदै मन्त्ती श्रष्ठले देशभित्रै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे ।

    आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रबद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए । चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य छ । साथै महोत्सवमा रु ६ करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

    ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण वस्तीको प्रबद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।