दुलेगाैडा । तनहुँमा चार जना स्रष्टालाई साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । शुक्ला साहित्य संगम तनहुँले विभिन्न विधामा स्रष्टा सम्मान गरेको हो ।
शनिबार भएको कार्यक्रममा शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवम प्राज्ञ रमेश श्रेष्ठ पुरस्कृत भए । विम्व कविको रुपमा परिचत उनलाई नगद १५ हजार रुपैयाँसँगै सम्मानपत्र प्रदान गरिएको छ ।
शुक्ला पुरस्कारबाट झापाका साहित्यकार जनार्दन दाहाल पुरस्कृत भए । उनलाई नगद १० हजार रुपैयाँको साथमा सम्मानपत्र प्रदान गरिएको हो । झापा घर भएका उनले तनहुँलाई कर्मथलो बनाउदै आएका छन् ।
शुक्ला प्रतिभा पुरस्कार तनहुँका साहित्यकार अनिल श्रेष्ठलाई र शुक्ला पूर्ण बाल प्रतिभा पुरस्कार तनहुँका अनुप लामिछानेलाई प्रदान गरियो । यी दुई पुरस्कारको राशी क्रमशः पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ रहेको छ ।
स्रष्टाहरुलाई बरिष्ठ साहित्यकार एवम प्राज्ञ सरुभक्त श्रेष्ठ, शुक्ला साहित्य संगमका कार्यवहाक अध्यक्ष रामशरण गैरे र संगमका संरक्षक शेषमणि आचार्यले सम्मान गरे । शुक्ला साहित्य संगम मार्फत कृति प्रकाशन गरेका स्रष्टाहरुलाई पनि सम्मान गरिएको छ ।
शुक्ला साहित्य संगमले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याएको स्रष्टालाई सम्मान गर्दै आईरहेको पुर्व अध्यक्ष नारायण श्रेष्ठले बताए । हरेक दुई बर्षमा संगमले स्रष्टा सम्मान गर्ने उनले बताए । यो दोस्रो संस्करणको सम्मान हो । ‘साहित्यमा योगदान पु¥याएका विशिष्टदेखी बाल स्रष्टालाई सम्मान गर्न थालेका छौँ’, श्रेष्ठले भने ।
तीन लाख रुपैयाँको अक्षयकोष खडा गरेर दिन थालिएको सम्मान पहिलो पटक दुई बर्ष अगाडी शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार साहित्यकार धिरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुष्मा सिग्देल तथा शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरिएको थियो ।
शनिबार नै सम्मानित स्रष्टा जर्नादन दाहालको गजल संग्रह ‘यी मान्छे यी नजर’, विमोचन समेत गरिएको छ । दाहालको यो चौथो कृति हो । ‘यी मान्छे यी नजर’ मा ८५ गजल संग्रहित छन् । झापा घर भई तनहुँमा लामो समयदेखी शिक्षण पेशामा आबद्ध उनको यसअगाडी ‘मधुरिमा’ र ‘उद्वेलित मनहरु’ गजल संग्रहसँगै ‘कविको मृत्यु’ कविता संग्रह प्रकाशित भईसकेको छ ।
सो अवसरमा शुक्ला साहित्य संगमले हरेक महिना गर्दै आईरहेको काव्य श्रृखंलाको १८० औँ श्रृखंला समेत भएको छ । स्रष्टाहरुले आफ्नो कविता, गजल, मुक्तक वाचन गरेर सुनाएका थिए ।