बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा एमालेले घरदैलो अभियानलाई तीव्र पारेको छ । नेकपा एमाले र जोशी समूहबीच तालमेल भएको यस पालिकामा उम्मेदवारहरु मतदाता भेट्न घरघरमा पुगिरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले घरदैलो अभियानले आफूहरुलाई उत्साहित बनाएको बताए । पर्यटनको केन्द्र बन्दीपुरलाई पर्यटनको माध्यमबाट समृद्ध गाउँपालिका बनाउने योजना सहित आफूहरु प्रतिस्पर्धामा उत्रिएको थापाले बताए ।
नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको राम्रो पकड रहेको बन्दीपुरमा तालमेल भएपछि जित्न सकिने आँकलन एमाले नेताहरुको छ । बन्दीपुरमा जाेशी समूहबाट केशु गुरुङ उपाध्यक्षका उम्मेदवार छन् ।
बन्दीपुरमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ ।