स्थानीय निर्वाचन : जहाँ प्रतिष्ठाको लडाइँ हुँदैछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय निर्वाचन : जहाँ प्रतिष्ठाको लडाइँ हुँदैछ

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७९, मंगलवार

    दुलेगाैडा । आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिन थालेका नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ । यो बेला निर्वाचन परिणाम आफ्नो पक्षमा दिलाउन उम्मेदवारहरुले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि सकिनै थालेको छ । त्यसैले पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् ।

    अहिले चुनावी अभियान झिसमिसेमा सुरु हुँदै अबेर रातीसम्म चलिरहेको छ । विभिन्न आश्वासनको पोको लिएर दल र तीनका उम्मेद्वार बस्तीबस्तीमा पुगिरहेका छन् । कसरी हुन्छ आश्वासनको जालोमा जनतालाई पार्न दलका उम्मेदवारबीच दौडधुप छ ।

    सबैतिर चुनावी प्रतिष्पर्धा झैं तनहुँमा पनि केही स्थानीय तहमा यसपालिको चुनावी भीडन्त निकै नै रोचकपूर्ण छ । चुनावी हारजित राजनीतिक दल र उनीहरुका शीर्ष नेताको प्रतिष्ठासँग जोडिदाँ यो पटक तनहुँको रस्साकस्सी झनै बढि देखिन्छ । आफ्नो पोल्टामा मत माग्न दलहरु यतिबेला मरि मेटेका छन ।

    जिल्लाको व्यास नगरपालिकामा यसपाली निकै रोचक भिडन्त हुँदैछ । यहाँको चुनावी परिणाम शीर्ष नेताको प्रतिष्ठासँग पनि जोडिएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर व्यास नगरपालिकामा कांग्रेसले कुनैपनि हालतमा जित्नपर्ने दबाब छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार बैकुण्ठ न्यौपाने र उपमेयरका उम्मेद्वार इन्दिरा दरैको टिम चुनावी परिणाम आफ्नो पोल्टामा पार्न भरमग्न प्रयासरत छन् । न्यौपानेले अघिल्लो पटक पनि जितेर पाँच वर्ष ब्यास नगरपालिका हाँकेका अनुभवि व्यक्ति हुन् । तर, न्यौपानेलाई अहिले आफ्नैबाट चूनौतीको पहाड अघिल्तिर खडा भएको दमौली बजारको पश्चिमट्टी मानहुँडाँडा जस्तै अग्लो ।

    नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका गोबिन्दराज जोशीको समुह यो बेला सबैभन्दा बढी दवावमा छ । किनभने कांग्रेसका तर्फबाट ब्यास नगरपालिकाका उम्मेद्वार न्यौपानेलाई पराजित गरेर जिल्लामा शक्ति स्थापित गराउनुपर्ने बाध्यतात्मक परिस्थिती जोशी समुहमा छ ।

    तनहुँमा कांग्रेसलाई सवक सिकाउने चेतावनी दिदै आईरहेका जोशीका छोरा दिपकराज जोशी व्यास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर जित्ने दाउमा जोडतोडका साथ लागिरहेका छन् । जोशी समुहले कांग्रेसलाई पराजित गर्दै आफुलाई बलियो सावित गर्न नेकपा एमालेसँग तालमेल समेत गरेको छ । एमालेको साथ लिएर जोशी समुह अहिले कांग्रेसका न्यौपानेसँग चुनावी मैदानमा प्रतिश्पर्धा छ । एमालेसँगको तालमेलले कांग्रेसलाई कमजोर बनाउन जोशी समुहलाई उत्ति सहज छैन किनभने लामो समयदेखि व्यासमा कांग्रेस बलियो पोजिसनमा रहेको थियो । तर, आन्तरिक विवादका कारण जोशी समुह कारवाहिमा पर्दा अहिले कांग्रेसमाथि नै दवाव थपिएको छ ।

    कांग्रेसलाई वरिष्ठ नेता पौडेलको प्रतिष्ठासँग जोडिएकाले व्यासमा पराजित हुनन मिल्दैन् र जित्नैपर्नेमा दबाबमा रहेको नेताहरु बताउँछन । यता गोविन्दराज जोशी र एमालेलाई बलियो देखाउनकै निम्ति जोशी समुहलाई पराजित हुने छुट छैन् । यी दुई समुहको ‘गर या मर’ को स्थितीले व्यास नगरपालिकाको चुनावी भिडन्तलाई रोचक बनाईरहेको हो ।

    कांग्रेस र गठबन्धन दुवै समुह व्यासमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । चुनौती कम अवसर ज्यादा भएको उनीहरुको प्रतिक्रिया छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार वैकुण्ठ न्यौपाने भन्छन्, ‘त्यति धेरै चुनौतीको सामना गर्नुपरेको छैन । गाउँगाउँमा पुग्दा स्थानीयस्तरमा जुन किसिमको समर्थन प्राप्त भएको छ त्यसले चुनौती छैन भन्ने पुष्टी गरेको छ,’ उनले भने । आफ्नो जित रामचन्द्र पौडेलसँग मात्रै नभएर सिंगै पार्टीको प्रतिष्ठासँग जोडिएको पनि उनको भनाई छ । ‘पार्टीका नेता सबै एक ठाउँमा उभिएर विजयी गराउनतर्फ लाग्नुभएको छ । सबै एकिकृत र एकाकार हुनुहुन्छ’, उनले भने ।

    अर्काेतर्फ एमालेसँगको तालमेल, नेपाली कांग्रेसमा टिकट नपाएर रुष्ट भएर कांग्रेस छाडेकाहरु र यस अगाडीका मेयरले काम गर्न नसक्दा रुष्ट भएका मतदाता नै आफ्नो जितको आधार भएको मेयरका प्रत्यासी दिपकराज जोशी बताउँछन् । ‘हामीले चुनाव जित्ने आधार धेरै छन् । २०४८ सालदेखी कांग्रेसको एकछत्र राज भइरहेको छ । ब्यास नगरमा जुन हिसाबले विकास हुनपर्ने थियो, भएको छैन । बेरुजु, बजेटको चुहावट भएकाले जनता आजित छन् । चुनाव जित्ने भोट पाएर हो, भोटको आधार जनता हुन् । तसर्थ जित सहज देखिन्छ,’ उनको भनाई छ ।

    उता भिमाद नगरपालिकाको जित भने एकीकृत समाजवादीको प्रतिष्ठासँग जोडिएको छ । कांग्रेस र राष्ट्रिय जनमुक्ती पार्टीसँग तालमेल गरेर एकीकृत समाजवादीका काजीमान श्रेष्ठ भिमादको मेयरमा लड्दैछन् । उनको हार–जित वहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को प्रतिष्ठासँग जोडिन्छ । अन्य स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पद पाएको छैन् । भिमादमा नेकपा एमालेको पकडलाई एकीकृत समाजवादीको जितले कमजोर बनाउने रणनीति छ । पार्टीको साख जोगाउन आफुले जसै जित्नैपर्ने श्रेष्ठ बताउँछन् । ‘घरदैलोमा नगरबासीले देखाउनु भएको सद्भाव मेरो जितको आधार हो’, उनले भने ।

    बन्दीपुर गाउँपालिकाको जित–हार भने नेकपा माओवादी केन्द्रको प्रतिष्ठासँग जोडिएको छ । किनकी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका १० मध्य माओवादी जितेको एकमात्र स्थानीय तह हो बन्दीपुर । जिल्लाको दुई स्थानीय तहको पाँच वडाध्यक्षमा माओवादीले जितेको थिए । जसमध्ये तीनवटा वडा माओवादीले बन्दीपुरमै जितेको थियो ।

    माओवादीले बन्दीपुरमाथि यो पटक पनि जित हात पार्ने अध्यक्षका उम्मेद्वार पुर्णसिं थापा दावि गर्छन । उनी भन्छन्, ‘अघिल्लो पटक जितेको पार्टी भएकाले जित्नैपर्ने हुन्छ र जित्न पनि सकिन्छ । पुरानै उम्मेद्वारलाई अध्यक्ष र उपाध्यक्षमा पार्टीले टिकट दिएको छ । त्यस कारण पनि हार्ने छुट नभएको उनी बताउँछन । नैतिकदेखि सामाजिक प्रेसर छ,’ हाम्रो जित निश्चित छ,’ उनले भने, ‘सबै वडामा राम्रो अवस्थामा छौ ।’ उनले गाउँ गाउँमा पुग्दा आफ्नो पक्षमा समर्थन प्राप्त भएको बताए ।