दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यका निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका छन् । शुक्रबार भएको मनोनय दर्तामा गठबन्धन गर्दै कांग्रेस र माओवादीले कार्यपालिका सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन् । नगरको मेयर र उपमेयरमा पनि कांग्रेस र माओवादीले गठबन्धन गर्दै चुनाव जितेका थिए ।
नगरसभामा नेकपा एमालेको बहुमत भएपनि कार्यपालिका सदस्यका लागि कांग्रेस माओवादी गठबन्धनको उम्मेद्वारी परेको हो ।
एमालेले महिलातर्फ डोलमाया गुरुङ, रिता नेपाली, शारदा लम्साल, सितादेवी तिम्लिसिना र सुनिता सुनार विकलाई कार्यपालिका सदस्यको उम्मेद्वार बनाएको छ । यस्तै दलित अल्पसंख्यकतर्फ खिमबहादुर कुमाल, विमल जिसि र सन्तोष विकलाई उम्मेद्वार बनाएको छ ।
नेपाली कांग्रेसले महिलातर्फ उमादेवी सुवेदी, तिलादेवी राना आले, मिठुमाया राना, लक्ष्मीदेवी भण्डारी र सृजना विकलाई उम्मेद्वार बनाएको छ । दलित अप्लसंख्यक तर्फ कांग्रेसका बसन्त लालचन र माओवादीका जौमाया सुनार र पोषबहादुर विश्वकर्माको उम्मेद्वारी परेको छ ।
बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन मार्फत शुक्लागण्डकीमा मेयर उपमेयर सहित ६२ जना निर्वाचित भएका थिए । शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ ।
आइतबार मनोनयन दर्ता गरेको उम्मेद्वारको विरुद्धमा दावि उजुरी गर्न सकिनेछ । १९ जेठमा कार्यपालिका सदस्य चयन गर्न मतदान हुनेछ ।