


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले वार्षिक योजना तथा बजेट तर्जुमा सहभागितामूलक प्रकृयाबाट सम्पादन गर्नका लागि विभिन्न समिति गठन गरेको हो ।
नगर उपप्रमुख खुमबहादुर विकको संयोजकत्वमा गठित स्थानीय राजश्व परामर्श समितिमा कार्यपालिका सदस्य दीर्घबहादुर थापा, रिता नेपाली, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिमाल चयन भएका छन् ।

नगरप्रमुख कृष्णराज पण्डितको संयोजकत्वमा गठित स्रोत, अनुमान तथा बजेट सीमा निर्धारण समितिमा उपप्रमुख विक, दीर्घबहादुर थापा, खिमबहादुर कुमाल, विमल जिसी, सुनिता सुनार सदस्यमा चयन भएका छन् ।
उपप्रमुख विकको संयोजकत्वमा गठित बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यमा विषयगत क्षेत्र हेर्ने कार्यपालिका सदस्य चयन भएका छन् ।
नगरपालिकाको समग्र नीति, योजना तथा कार्यक्रम अनुगमनका लागि उपप्रमुख विकको संयोजकत्वमा खिम बहादुर कुमाल र लक्ष्मी सुनार सदस्य रहेको समिति गठन गरिएको छ ।