जिसस तनहुँको निर्वाचन असार १३ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिसस तनहुँको निर्वाचन असार १३ गते

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    दमाैली । जिल्ला समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

    जसअनुसार असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ । असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ हुने, अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

    असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने, मनोनयपनत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य हुनेछ । असार १३ गते मतदानको कार्यतालिका रहेको छ ।

    जिल्ला समन्वय समितिको निर्वाचनका लागि तनहुँमा २० जना मतदाता छन् । समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन । यहाँ नेपाली काङ्ग्रेसको दश, नेकपा एमालेको छ र नेकपा माओवादी केन्द्रको चार मत छ । एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धका आधारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुनेछ । काङ्ग्रेस र माओवादीको तालमेलपछि १४ मत हुनेछ ।

    नेपाली काङ्ग्रेसले पाँच पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुख जितेको छ । नेकपा एमालेले चार पालिकाको प्रमुख र दुई पालिकाको उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले एक पालिकाको प्रमुख र तीन पालिकाको उपप्रमुख जितेको छ ।