भानु । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा बाढीले भत्काएको कजवेको आइतबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरीक्षण गरेका छन् । गत बुधबार राति आएको बाढीले कजवे भत्काएपछि यस क्षेत्रमा यातायात अवरुद्ध हुँदै आएको र स्थानीयवासी समस्या परेपछि वरिष्ठ नेता पौडेलले उक्त क्षेत्रको निरीक्षण गरेका हुन् ।
निरीक्षण पश्चात् वरिष्ठ नेता पौडेलले सोही स्थानमा पक्की पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आग्रह गरेका छन् । टेलिफोन गरी पौडेलले मुख्यमन्त्री पोख्रेललाई तत्काल बजेटको व्यवस्था गरी पुल निर्माणको कार्य सुरु गर्न आग्रह गरेका हुन् ।
निरीक्षणका क्रममा भानु नगरपालिकाका प्रमुख त्रिपाठी, उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल लगायत सहभागी थिए ।
खत्री खोलामा आएको बाढीले कजवे भत्किदा यातायातको सम्पर्क टुटेको छ । कजवेको बीच भाग भत्किदा टुहुरेपसल हुँदै चन्द्रावती सञ्चालन हुने यातायात अवरुद्ध भएको छ । उक्त ठाउँमा आवतजावत गर्न आइतबार मात्रै स्थानीयवासीले बाँसको पुल निर्माण गरेका छन् ।