छात्र र छात्राले लगाउने पोशाकमा भएको भिन्नताले छात्रलाई निर्धक्क र आत्मविश्वासी बनाएको छ भने छात्रालाई लजालु र संकोचि ।
शुक्लागण्डकीकी दिप्ति पौडेल खैरेनी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छन् । फुटबल खेल्नलाई उनी हुरुक्कै हुन्छिन् । फुटबल खेल्ने चाहाना उनको सदैव हुन्छ तर विद्यालययमा फुटबल खेल्ने छात्राहरुको समूह बनाउन सकेकी छैनन् । कारण हो, उनका साथीहरुले लगाउने स्कर्ट।
फुटबल खेल्नलाई अप्ठेरो भएपछि दिप्तिले स्कर्ट लागउन छाडेकि छन् । ‘कक्षा ७ सम्म स्कर्ट नै लगाउथे । स्कर्ट लगाएर बेञ्चमा बस्दादेखि खेल खेल्नलाई अफ्ठ्यारो भयो । त्यसपछि आमालाई अब मलाई पाईन्ट सिलाईदिनुस् भनेर लगाउन थाले । पाईन्ट लगाउने साथीहरु निकै कम भएकाले सुरुमा त असहज महशुस हुन्थ्यो । अहिले सजिलो छ’, उनले भनिन् ।
विद्यालय पोशाकमा स्कर्टकै कारण छात्राहरु छात्रको तुलनामा पछाडी परेको उनको बुझाई छ । ‘मेरो मनपर्ने खेल फुटबल हो । तर, चाहेर पनि खेल्न पाउदिन । साथीहरुले स्कर्ट लगाएकै कारण हाम्रो ग्रुप बनाउन गाह्रो छ । सधैँ पाईन्ट लगाउँदा पो प्राक्टिस भैरहन्छ । केटी साथीहरु रहर भएर पनि खेल्न मान्दैनन् । स्कर्ट लगाएको छ मिल्दैन भन्छन् । खेलमा त केटा र केटीको भनेर छुट्याईएको हुदैंन नि । तर स्कर्ट लगाएर कसरी खेल्ने भन्ने प्रश्न उठ्छ’, उनले गुनासो पोखिन् ।
उनकै समकक्षी सम्पदा पौडेल कहिले स्कर्ट लगाउँछिन् त कहिले पाईन्ट लगाउँछिन् । स्कर्ट लगाउँदा जाडो र गर्मी दुवै याममा असहज हुने उनको अनुुभव छ । ‘जाडोमा स्कर्टबाट चिसो घुस्छ । गर्मीमा स्कर्टसंगै लगाउने स्टकिङ (कम्मर सम्म आउने मोजा)ले गर्मी हुन्छ’, सम्पदाले भनिन्, ‘आजकल धेरैजसो पाईन्ट नै लगाउँछु । पाईन्ट लगाउँदा जता दुगुरे नी केही नहुने । स्कर्ट लगाउँदा खुम्चेको छ कि, फर्किएको छ कि भनेर तानेको तान्यै गर्नुपर्छ, चनाखो बन्नुपर्छ ।’
कक्षा ९ मा पढ्ने गिता नेपालीले स्कर्ट लगाएर कक्षा कोठाको अघिल्लो बेञ्चमा बस्दा निकै असहज हुने बताईन् । ‘भ¥याङमा हिड्दा, रेलिङमा उभिदा पनि कसैले देखेको छ कि भन्ने लाग्छ, स्कर्ट समाईरहनुपर्ने, ध्यान त्यतै लगाउनुपर्ने । त्यसैले स्कर्ट लगाउन छोडे’, पाईन्ट लगाएपछि पढाईमा ध्यान बढेको उनको भनाई छ ।
कक्षा ७ मा अध्ययनरत ऋतिका थापा पनि स्कर्ट भन्दा पाईन्ट लगाउन वेश मान्छिन् । ‘बेञ्चमा बस्दा पनि मिलाई मिलाई बस्नुपर्ने हुन्छ । घर आउँदा जादा पनि स्कर्ट उडाउँला भन्ने डर । न खुलेर खेल्न मिल्छ, न दौडन’, ऋतिका भन्छिन्, ‘स्कर्ट भन्दा पाईन्ट नै ठिक छ । सिलाउँदा कपडा पनि पाईन्टमा थोरै लाग्छ । लगाउन सजिलो र कम खर्चिलो पनि । तर किन सबैले यो कुरा नबुझेको होला ?’
खैरेनी माविमा अध्ययनरत एक हजार ७७ विद्यार्थी मध्ये ५५३ जना छात्राहरु छन् । उनीहरु मध्ये औंलामा गन्न सकिने छात्राले मात्र विद्यालय पोशाकमा स्कर्टको सट्टा पाईन्ट रोजेका छन् ।
तल्लो कक्षामा अध्ययनरत छात्राहरुमा स्कर्ट नै राम्रो देखिने अभिभावकको मनोविज्ञान छ । तर स्कर्टले छोरीहरुलाई कतिसम्म असहज बनाएको छ सोच्दैनन्, सोध्दैनन् । कक्षा ६ की अञ्जली गुरुङलाई स्कर्ट राम्रो लाग्छ तर स्कुल बसबाट ओर्लदा, खेल्दा असजिलो हुने बताउँछिन् ।
साना बालबालिकालाई मनपर्ने खेल हो ‘आईस वाटर’ । यो खेल खेल्दा कुद्नुपर्छ । स्कर्ट लगाएर आईस वाटर खेल्दा अफ्ठ्यारो हुने कक्षा ६ की मनिका तिमिल्सिनाले बताईन् । स्कुलबस चढ्दा, ओर्लदा पनि स्कर्टले समस्या पार्ने गरेको छात्राहरु बताउँछन् ।
खैरेनी माविका छात्राको जस्तै महशुस दुलेगौंडास्थित अरनिको माविका विद्यार्थीले पनि गर्छन् । अरनिको माविमा कक्षा १० मा अध्ययनरत छात्रा अस्मि श्रेष्ठले स्कर्ट लगाउँदा महिनावारी भएको बेला साह्रै गाह्रो हुने बताईन् । ‘अस्ति भर्खरै पनि पिरियड(रजस्वला) भएको बेला मलाई गाह्रो भयो। पाईन्ट लगाएको भए त्यस्तो हुन्थेन होला । पाईन्ट लगाउँदा जस्तो स्कर्ट लगाउँदा प्याड राख्न सजिलो हँुदैंन’, अस्मिले भनिन् ।
उनको कुरामा सहमती जनाउदै सजना थापाले थपिन् ’ह्वाईट स्कर्ट भयो भने त पिरियडको बेला अझ धेरै समस्या हुन्छ ।’ ‘स्कर्ट अन्कमर्फटेबल हुन्छ । पाईन्ट लगाउँदा केटाहरुलाई सजिलो भएजस्तो देखिन्छ । हामीले पनि स्कर्ट भन्दा पाईन्ट नै लगाउँदा सुरक्षित र सहज हुन्थ्यो होला । स्कर्ट लगाउँदा जाडोमा झनै गाह्रो हुन्छ । स्कर्ट खुल्ला हुने भएकोले पाईन्ट लगाउँदा भन्दा वढि जाडो हुन्छ’, उनको भनाई छ ।
पाईन्ट लगाउँदा सजिलो कि स्कर्ट ? भन्ने प्रश्नमा सबैको जवाफ स्कर्ट लगाउँदा भन्दा पाईन्ट लगाउँदा सजिलो हुने थियो भन्ने आयो । तर उनीहरु धेरैले पहिलेदेखि नै दिदीहरुले स्कर्ट लगाएको देखेर त्यही अनुशरण गरेको बताउँछन् ।
अरनिको माविका विज्ञान बिषय शिक्षक बबिता ढकाल आत्मविश्वास बढाउनलाई पोशाकको भुमिका रहने बताउँछिन् । ’यदी स्कर्टको ठाउँमा पाईन्ट हुन्थ्यो भने छात्राहरुको आत्मविश्वास अझ वढ्थ्यो । स्कर्ट लगाउँदा आफ्नो पोशाकमा उनीहरुले जति ध्यान दिनुपर्छ । पाईन्ट लगाउँदा पर्दैन । मैले पनि विद्यालयमा स्कर्ट नै लगाएको हो, कलेजमा भने पाईन्ट लगाए । तुलना गर्दा स्कर्ट लगाउँदा भन्दा पाईन्ट लगाउँदा धेरै नै सजिलो भएको अनुभव छ’, उनले भनिन् ।
विद्यार्थीका लागि स्कर्ट अफ्ठ्यारो भए जस्तै महिला शिक्षकलाई साडी झन्झटिलो पोशाक भएको उनले बताईन् । साडीकै कारण तयार हुन बढि समय लाग्ने, महिनावारीका बेला प्याड चेञ्ज गर्नलाई असहज हुने जस्ता समस्याका कारण विद्यालयको विशेष कार्यक्रम बाहेक नियमित समयमा साडीको सट्टा कुर्थालाई विद्यालय पोशाक बनाएको उनले बताईन् ।
खैरेनी माविका शिक्षक तिला थापा मगर आफ्नो १४ वर्षको शिक्षण अनुभवमा स्कर्टले छात्राहरुलाई अतिरिक्त क्रियाकलापमा हतोत्साही बनाईरहेको बताउँछिन् । ‘कहिलेकाहीँ चौरमा लगेर राख्दा पनि पलेटीँ गरेर बस्ने कि घुडाँ मारेर बस्ने ? अलमलमा पर्छन् । अगाडी केटाहरु छन् भने झनै अफ्ठेरो मान्छन् । केटीकेटी ग्रुप बनाएर भिन्नै बस्न खोज्छन् । सबै मिलेर बस न भन्दा मिस स्कर्ट छोटो छ भन्छन् । स्कर्टकै कारण दौडने, उफ्रने जस्ता खेलकुदमा पनि छात्राहरु सहभागी हुन खोज्दैनन्’, थापाले सुनाईन् । ‘हामी पनि स्कुल पढ्दा स्कर्ट लगाएर नै पढ्यौ । त्यतिखेर हामीले भोगेको समस्या अहिलेका छात्राहरुले पनि भोेगिरहेका छन् । मैले कलेजमा चाहिँ पाईन्ट लगाएर पढें । त्यतिबेला केटी भएकै कारण कुनै पनि प्रतिष्प्रर्धामा केटा भन्दा पछी छौं भन्ने लाग्थेन’, आत्मविश्वास बढाउन पोशाकको भुमिका हुने मत सहित उनले भनिन् ।
अरनिको माविका प्रधानाध्यापक सम्मर कार्कीले स्कर्टकै कारण समस्या भएको गुनासो अहिलेसम्म नआएको बताउँछन् । ‘अभिभावक तथा विद्यार्थीहरुले पनि केही भन्नुभएको छैन, पहिलेदेखि चलिआएको हुनाले छात्राहरुले स्कर्ट र सर्ट नै लगाउछन् । तर विद्यालयले तोकेको कपडाको पाईन्ट लगाउन विद्यालयले रोकेको छैन’, कार्कीले भने ‘खेल खेल्नलाई, हिडडुल गर्नलाई स्कर्ट भन्दा पाईन्ट नै सजिलो हुन्छ भन्ने मलाई पनि लाग्यो ।’
खैरेनी माविका प्रधानाध्यापक वोधराज ढकालले तोकिएको कपडाको पाईन्ट वा स्कर्ट जे लगाउन पनि पाईने र अधिंकाश विद्यार्थीहरु स्कर्ट लगाएर विद्यालय आउने गरेको बताए । ‘छात्राहरुलाई पाईन्ट लगाउँदा सजिलो हुन्छ भने पाईन्ट लगाउन बन्देज गरिएको छैन । स्कर्ट अनिवार्य लगाउन भनिएको छैन्’, उनले भने ।
बेलचौतारा स्थित प्रहरी स्कुल बाहेक तनहूँका सबैजसो विद्यालयमा छात्राहरुले स्कर्ट लगाउँछन् । प्रहरी स्कुल बेलचौतारामा भने कक्षा ४ माथिका छात्र छात्रा दुवैलाई सर्ट–पाईन्ट अनिवार्य गरिएको छ ।
छात्र र छात्रामा समानताको भावना ल्याउन पाइन्ट अनिवार्य गरिएको स्कुलका प्रधानाध्यापक पुष्पो राय क्षेत्री बताउछन् । ‘विद्यालयमा कक्षामा बसेर पढ्ने काम मात्रै हुदैंन, प्रयोगशाला, पुस्तकालय, खेलमैदान जुनसुकै ठाउँमा पनि छात्राहरुलाई स्कर्टका कारण फरक महशुस नहोस् भनेर नै पाईन्ट अनिवार्य गरेका हौं’, क्षेत्रीले भने ।
विद्यालय उमेरका दुई छोरीकी आमा रिता भण्डारी छोरीहरुलाई स्कर्टले अफ्ठ्यारो हुन्छ होला भन्ने सोच नै नआएको बताउँछिन् । ’पहिलेदेखि नै छोरीलाई स्कर्ट नै सिलाईदिने गरेको छु । स्कुलले केटीले पनि पाईन्ट लगाउन अनिवार्य ग¥यो भने सिलाईदिनुपर्ला’, उनले भनिन् ।
सामन्यतया हामी छोरीलाई जामा र छोरालाई सुरुवाल लगाईदिएर हुर्काउँछौ । परम्परादेखि नै चलिआएको हुनाले हामीलाई यो पोशाक साधारण नै लाग्छ । तर छोरीलाई कमजोर बनाउने प्रयास जामा बाट नै शुरु भएको छ । विद्यालय पठाउँदा पनि हामी छोरीलाई स्कर्ट सिलाईदिन्छौ, छोरालाई पाईन्ट । पोशाकका कारण शारिरिक अभ्यासका क्रियाकलापमा केटीहरुको पर्याप्त सहभागिता देखिदैन । जसको असर उनीहरुको आत्मरक्षा क्षमतामा देखिन्छ । विद्यालय जाने वित्तिकै हुने शारिरिक अभ्यासमा, कक्षाकोठाको बेञ्चमा बस्दा, विभिन्न खेलकुदमा सहभागिता जनाउँदा वा बाटोमा हिडिरहेको बेला हावा चल्दा स्कर्ट लगाउने छोरीलाई सम्हालेर लाज छोप्ने कुरामा नै ध्यान दिनुपर्छ । जति समय लाज जोगाउन स्कर्ट लगाउनेले खर्चनुपरेको छ । त्यो समयमा पाईन्ट लगाउनेले निर्धक्क अतिरिक्त कुरा सिक्ने मौका पाउँछन् । आत्मविश्वासी देखिन्छन् ।