आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७९, बुधबार

    काठमाडौ । आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।

    सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।

    नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।

    चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ । कृषि विभागले दिवसको मुख्य कार्यक्रम खुमलटारमा गर्दैछ ।

    त्यस्तै पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव पोखरा महानगर–२५ हेम्जामा हुँदैछ । कृषि प्रधान देश नेपालमा धानको ठूलो महत्त्व छ । असार महिनामा मानो रोपेर मुरी उब्जाउने मान्यता छ ।

    आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।