केशवटारका ५६ जनालाई लालपुर्जा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केशवटारका ५६ जनालाई लालपुर्जा वितरण

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७९, बुधबार

    दमाैली । नापी कार्यालय तनहुँले व्यास नगरपालिका–१४ केशवटारका ५६ जनालाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५६ जनालाई लालपुर्जा वितरण गरेको हो ।

    गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। कार्यालयले गाउँ ब्लकअन्तर्गत सबै परिवारलाई पुर्जा वितरण गर्ने लक्ष्यका साथ पुर्जा वितरणलाई निरन्तरता दिइरहेको आचार्यले बताए ।

    तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । सबै ठाउँको नापी सम्पन्न भइसकेको जनाइएको छ । उनका अनुसार साविक मैवलका केही ठाउँमा लालपुर्जा वितरण गर्न बाँकी छ ।

    कार्यालयले यो वर्ष ऋषिङ गाउँपालिका–४ भिरकोटका एक सय एक, बन्दीपुर गाउँपालिका–६ धरमपानीका ६५ जनालाई पनि लालपुर्जा वितरण गरिसकेको छ । पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् ।

    पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलोपटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।

    एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।