काठमाडाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । बजेट निर्माणका क्रममा मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र राजश्वका दर परिवर्तन गरेको आरोप लागेका अर्थमन्त्री शर्माले राजिनामा दिएर सत्यतथ्य छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने पौडेलले बताए ।
अर्थमन्त्रीको कार्यशैलीलाई लिएर चौतर्फी विरोध र प्रश्न उठिरहेकाले देशको अर्थ मन्त्रालय जस्तो महत्वपूर्ण निकायको काम कारवाहीमा प्रश्न उठेपछि सम्वन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नु उसको जिम्मेवारी भएको पौडेलको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी लोकतान्त्रिक र कानुनी राज्यको व्यवस्थामा छौं । यसको अवधारणा र मूल्य मान्यता भनेकै राज्य जनता प्रति जबाफदेहि हुनुपर्दछ।राज्यका जुनसुकै सार्वजनिक काम कारवाही बारे सम्वन्धीत मन्त्रालय माथि उठेको प्रश्नको उचित जवाफ सोही मन्त्रालयले दिनु पर्दछ, यो उसको जिम्वेवारी हो । मन्त्रालयले जवाफ नदिएमा वा चित्तबुझ्दो नभएमा त्यस बारे छानबीन गर्ने जिम्मवारी राज्यको हो ।”