दमौलीमा बकर इद धुमधामले मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा बकर इद धुमधामले मनाइयो

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, आईतवार

    दमौली । दमौलीका इस्लाम धर्मावलम्बीहरूले आइतबार यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । व्यास नगरपालिका-४ स्थित नुरी हन्फी जामे मस्जिदमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

    इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

    हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् ।

    नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

    इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।