दमाैली । व्यास नगरपालिकामा कृषि प्रबद्र्धन तथा कौशीखेतीका लागि विनियोजन गरेको रकमबाट मगर संघको भवन निर्माण गरिएको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले कृषि प्रबद्र्धन तथा कौशीखेतीका लागि विनियोजन गरेको रकमबाट मगर संघको भवन निर्माणका लागि दुई लाख ८५ हजार भुक्तानी गरेको छ ।
नगरपालिकाले उक्त आर्थिक वर्षमा नौ लाख दुई हजार पाँच सय शीर्षक फरक पारी खर्च गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकमलाई अनियमित देखिएको भन्दै बेरुजुमा समावेश गरिदिएको छ ।
मौलिक संस्कृति संरक्षणका लागि विनियोजित ५० हजार बजेट ह्याचिङ मेसिन खरिदमा, महिला बालबालिका सीप विकासका लागि विनियोजित एक लाख आलुको बीउ खरिद तथा वितरणमा, नेतृत्व सीप विकास तथा स्वास्थ्य कार्यक्रमका लागि विनियोजित ५० हजार शौचालय निर्माणमा, शैक्षिक गुणस्तर सुधारमा विनियोजित ५० हजार जौवारी मोटरबाटो निर्माणमा, व्यास नपा पुस्तकालय स्तरोन्नतिमा विनियोजित दुई लाख ७७ हजार पाँच सय स्वास्थ्य कर्मचारीको पोशाकमा र विद्यालय शैक्षिक गुणस्तर सुधारमा विनियोजित ९० हजार कालिका मोटरबाटो निर्माण तथा मर्मतमा खर्च गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (१) बमोजिम कार्यालय प्रमुखले सरकारी रकम खर्च गर्दा बजेट तथा कार्यक्रमको सीमाभित्र रही खर्च गर्नुपर्ने व्यवस्था छ भने एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या, २०७४ मा विनियोजित बजेट सम्बन्धित खर्च शीर्षकमा गर्नुपर्ने उल्लेख छ ।