अन्तरघातका कारण काङ्ग्रेस कमजोर बन्दैछ : वरिष्ठ नेता पौडेल (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तरघातका कारण काङ्ग्रेस कमजोर बन्दैछ : वरिष्ठ नेता पौडेल (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७९, शनिबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारण भन्दा पनि अन्तरघातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्य समितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले आफैभित्रको अन्तरघातले काङ्ग्रेस खुम्चिन पुगेको उल्लेख गरे ।

    “पार्टीभित्र अन्तरघातको सुरुवात धेरै अगाडीबाट भयो, आफैभित्रको अन्तरघातले खुम्चिन पुगेका छौ, यसमा समिक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ,” पौडेलले भने, “यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हँुदैन । ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ”

    वरिष्ठ नेता पौडेलले अन्तरघातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तरघाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्छ, पार्टीले कारवाही गरेर ननिकालेपनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने ।

    वरिष्ठ नेता पौडेलले भ्रष्टाचारले लोकतन्त्रलाई घायल बनाएकाले यसलाई निरुत्साहित गर्नुपर्ने बताए । पैसावाला, तस्करहरुको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ,” पौडेलले भने।

    गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै पौडेलले काङ्ग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए। “हामीलाई एक्लो पार्ने सम्भावना भएकाले हामीले गठबन्धन गरेका हौ, काङ्ग्रेस बलियो हुन्छ भनेर गठबन्धन गरिएको होइन,” पौडेलले भने। काङ्ग्रेसका नाममा खेती गरेकाहरुले अहिले काङ्ग्रेसलाई नै कमजोर बनाउने काम गरिरहेको पौडेलको आरोप थियो ।

    वरिष्ठ नेता पौडेलले जनतालाई कसरी खुसी पार्न सक्छौ त्यसतर्फ ध्यान दिनुपर्ने बताए। राजनीति र विकासलाई सँगै लैजानुपर्ने बताउँदै पौडेलले जनतासँग जोडिएर जान सके मात्र पार्टी बलियो हुने धारणा राखे ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए। पौडेलले चुनावमा गठबन्धन नगरी बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताए। जनताको काम गरे मात्रै काङ्ग्रेस लोकप्रिय बन्न सक्ने उनकाे भनाई थियो ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।