तालमेल गर्दा माओवादी र समाजवादीले दाबी गरेजति सीट दिन सकिन्न– शेखर कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तालमेल गर्दा माओवादी र समाजवादीले दाबी गरेजति सीट दिन सकिन्न– शेखर कोइराला

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७९, बुधबार

    काठमाडाै । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सत्तारुढ गठबन्धनभित्रका कम्युनिस्ट पार्टीले दाबी गरेअनुसार सीट बाँडफाँड हुन नसक्ने बताएका छन् । 

    बुधबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको भन्दै आगामी चुनावमा उनीहरूले भनेअनुसार सीट दिन नसकिने बताएका हुन् । 

    ‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरूलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस नै ठूलो पार्टी हो’, कोइरालाले भने । 

    आगामी चुनावमा कांग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्नुपर्ने उनले बताए । ‘प्रदेश र संघको निर्वाचनमा होमिँदै छौं, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने ।

    आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बनाउने गरी चुनावी तालमेल हुने पनि उनले बताए । गठबन्धनमा रहने दलहरूले पनि पाँच वर्ष कांग्रेसको नेतृत्वमा सरकार बनाउने सुनिश्चितता गर्नुपर्ने उनले बताए । 

    ‘सीट बाँडफाँड कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सीट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन । २०७४ सालको चुनावको नतिजाको आधारमा सीट बाँडफाँट हुन सक्दैन ।’