दुलेगाैडा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपति खेलमैदानको बुधबार निरीक्षण गरेको छ । उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको नेतृत्वमा बुधबार खेलमैदानको निरीक्षण गरिएको हो ।
उपसमितिले खेलमैदानको निरीक्षण गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विकसँग छलफल समेत गरेको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा क्रिकेट खेल सञ्चालनका लागि खेलमैदानको सम्भाव्यता अध्ययन गरिएको बताइएको छ ।
राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजनाका लागि नगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने उपप्रमुख विकले प्रतिबद्धता व्यक्त गरे । “शुक्लागण्डकीमा खेलकुद प्रतियोगिता आयोजना गरिनु गौरवको विषय हो, यसका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छौ,” उनले भने । अनुसार यहाँ क्रिकेट खेल सञ्चालनका लागि मैदान उपयुक्त देखिएको छ ।
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका मिलेको हो ।
खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरिरहेको छ । पोखराका विभिन्न ठाउँमा खेलमैदानको निरीक्षणपश्चात् उक्त टोली तनहुँ आइपुगेको हो ।
राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।