आज जनैपूर्णिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज जनैपूर्णिमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ ।

    हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।

    यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

    डोरो शरीर सुरक्षा ‘कवच’का रूपमा रहेको भन्दै पण्डित माधवप्रसाद शर्मा बन्धनले विभिन्न विकार र दूषित कीटाणुबाट रक्षा गर्ने बताउँछन् । ‘संसार विश्वासमा अडिएको छ,’ उनी भन्छन्, ‘कोरोनाजस्ता भाइरसलाई स्वास्थ्य सावधानी अपनाएमा हामीले बाँध्ने रक्षा बन्धनले त्यसविरुद्ध लड्ने आत्मविश्वासमा मद्दत पुग्न सुक्छ ।’

    जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माभ्mने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।

    पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा बाँधिदिन्छन् ।

    धार्मिक विश्वास
    भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ¬धागो आप्mना पति देवराज इन्द्रको हातमा बाँधेर आप्mना तमाम शत्रुदेखि श्रावण शुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै सम्झना र विश्वासमा स्वर्ण, अक्षता, सस्रयूं, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणसाथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन छ ।

    पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मिक विश्वास छ ।

    रक्षाबन्धन धागो महिलाका बायाँ नाडीमा र पुरुषको दायाँ नाडीमा बाँध्ने चलन छ । यस दिन बाँधिएको धागो तिहारमा लक्ष्मीपूजाको दिन गार्ईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । डोरो गाईको पुच्छरमा बाँधे मरेपछि त्यही डोरो समातेर वैतरणी नाघिने कथन छ ।