खसाधिराज नागराजले स्थापना गरेको सिञ्जा साम्राज्यको पतन वि.सं १४४५ देखि नै सुरुआत भएको थियो । वि.सं १४६३ मा आएर सिञ्जा साम्राज्य तासको महल ढलेझैं गल्र्यामगुर्लुम ढल्न पुगेको थियो । सिञ्जा साम्राज्यको पतन संगसंगै कर्णाली क्षेत्रमा बाइसी र गण्डकी प्रशवण क्षेत्रमा चौविसी राज्यहरु उदाएका थिए । यस संक्रमण कालमा थुमै पिच्छे राज्यहरुको गठन हुने क्रम तिव्रताका साथ हुन पुगेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गर्नु पूर्व सम्म नेपालमा वाइसे–चौविसे राज्यहरुको अस्तित्व रहीरहेको थियो । गण्डकी प्रशवण क्षेत्रमा उदाएका चौविसी राज्यहरु मध्येको शक्तिशाली तनहुँ राज्यमा तनहुँ, गलेखामकोट, दगामकोट थप्रेककोट मिर्लुङ्गकोट , बन्दिपुर, रुपाकोट, रिसिङ, घिरिङ, भीरकोट र ढोर जस्ता थुमथुमे राज्यहरुको अस्तित्व रहेको थियो । गलेखामकोटमा चक्रधर राना वंशजको, थप्रेककोटमा प्हचु गुरुङ वंशजको र दगामकोटमा धनसिंह दुरुङ्च्या मगर वंशको, रिसिङ र तनहुँमा सेनवंशको, भीरकोट र ढोरमा खानवंशको शासन चलेको थियो । बागलुङ निशीभूजिबाट बसाइ सरी आएका रानामगरहरुले गलेखामकोट राज्यको स्थापना गरेका हुन । गलेखामकोटका राजा चक्रधर रानाले थप्रेककोट र दगामकोटमाथि विजय प्राप्त गरे पछि गलेखामकोट राज्यको सिमाना पूर्वमा मादीनदी उत्तरमा विलमादे खोला, पश्चिम कोत्रेखोला र दक्षिणमा सेतीनदी सम्म फैलिएको थियो । यसैले गलेखामकोटलाई ७०० गलेखामकोट भन्ने गरिन्थ्यो । यस वरपरका गाउँ बस्तीहरुमा अहिले पनि राना, थापा, आले, मास्की ,भुजेल, सिञ्जाली जस्ता मगरका थरहरु प्रसस्त भेटिन्छन् । गलेखाम थुम्मा अझै पनि राना मगरहरु ले नै पूजाआजा गर्दै आएका छन् । तनहुँका राजा दिग्विजय सेनले गलेखामकोट राज्यलाई तनहुँमा विलय गराए पछि गलेखामकोटको अस्तित्व नामेट हुन पुगेको हो भनिन्छ ।
वास्तवमा थप्रेककोट महाभारत पर्वत श्रृङ्खलाको श्याम्घा र साँझा दुई शाखा श्रृङ्खलाहरु हुन । मादीवेसी माथिको भिरालो मैदानी पाटो नै श्याम्घा हो भने गलाफुभञ्ज्याङको भिरालो मैदानी भूभागलाई साझा भन्ने गरिन्छ । बीचमा बहने मोदी खोलाले श्याम्घा र साँझाको सिमानाको काम गरेको छ । गलेखामकोटथुम भित्रका सिमलपानी क्रियापानी, सिरुवारी, लोध, हर्षपुर, शेरा, बाह्रविसे, साँंगेपत्यानीटार सबै आवादीयुक्त वस्तीहरु श्याम्घा नामले सम्वोधित हुन पुगेका छन् भने थप्रेककोटको भिरालो मैदानी भूभाग गलाफुभञ्ज्याङ, माथिल्लो साँझा, साँधीभञ्ज्याङ , साझाहटिया तल्लो साँझा , साँझाटार र शेषटार थुमथप्रेक सोरानी भित्र पर्दछन् । वि.सं.२०३२ साल पछि मात्र थप्रेककोटथुम भित्रका गलाफुभञ्ज्याङ, माथिल्लो साँजा, तल्लो साझा , साझाटार शेषटार पनि श्याम्घा गाउँपालिकामा नै समेटिन पुगेका छन् । श्याम्घाका सिमलपानी र क्रियापानीमा भण्डारी, न्यौपाने, भट्ट र नेवारहरु, सिरुवारीमा दलितथरका दमै, कामीहरु , लोधमा सार्कीहरु, तल्लो उपल्लो श्याम्घामा न्यौपाने र भण्डारीहरुको बसोबास पाइन्छ भने उपल्लो साँझामा गुरुङ, चितीस्वारामा ठकुरी र, तल्लो साँझामा नागिला , घिमिरे छिमाल, चंदौला, च्वाई ढौनिया खत्री , कुमाल, मियाँ र दलितथरहरु भेटिन्छन् । पश्चिम नेपालमा कुमाउँ र पूर्वि सपादलक्षलाई महाकालीले जसरी छुट्टाएको छ त्यसै गरी त्यो काम यहाँ मोदी खोलाले गरेको पाउँदछौं । श्याम्घा भेगमा पूर्विया ब्राम्हण , नेवार, दलित र मगरको बस्ती भेटिन्छ भने साझामा कुमाई ब्राह्मण, क्षत्री , गुरुङ , दरै, कुमाल, दलित र मियाँका थरहरु भेटिन्छन् । तनहुँको भानु न.पा को.नावरुङ र गल्वु गाउँमा भेटिने हडखले ,कर्लुङमा कैनी र लमजुङको राइनासटारमा मात्र भेटिने चिलुवाल थरहरु जसरी अन्यत्र भेटिन्नन् त्यसै गरी नागिला , छिमाल , ढौनिया र चंदौला थरहरु पनि तनहुँको साझाटार र शिःसाघाट बाहेक अन्यत्र भेटिदैनन् । हालसालै शिःसाघाटबाट दमौली, काठमाण्डौ, पोखरा, चितवन र लमजुङमा कैनी, हडखले, छिमाल , चदौला र नागिला थरका केही परिवारका सदस्यहरु मात्र बसाइ सरी गएका छन् । शिःसाघाटमा बसोबास गरेका नागिला , छिमाल , ढौनिया र चंदौला जस्ता थरहरु खसआर्य समुहमा हालसम्म सूचिकृत नभइरहेको पाउँदछौं । जहाँ जाउँ गुरुङ, मगर, पूर्विया ब्राह्मण र कुमाईहरु प्रायस एकै ठाउँमा गोलबद्ध भइ बसोबास गरेका पाउँदछौं । यहाँ बसोबास गरेका मिया, छिमाल, चँदौला, च्वाई र नागिला थरहरुको बारेमा यही पुस्तकमा छुट्टै लेखमा समेटिएकोले श्याम्घा क्रियापानी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने, भण्डारी, काफ्ले र नेवार लगायतका केही थरघरको विषयमा संक्षिप्तमा प्रकाश गर्ने जमर्को गरेको छु ।
न्यौपाने थर
श्याम्घा निवासी न्यौपानेहरु आज भन्दा ३७५ वर्ष पहिले देखि कुमाउँबाट जुम्लामा र जुम्लाबाट स्याङ्जा हुँदै लमजुङको बोराङ पुगेर लमजुङबाट श्याम्घामा आइबसोबास गरेका सन्तती हुन् भनिन्छ । वि.सं. १७५६ साल तिर श्याम्घाली न्यौपाने वंशका मूलपुरुष बरु न्यौपानेले लमजुङको बोेराङबाट अंशको नाममा एउटा ढुकुर चराको सुनको मूर्ति बोकेर तनहुँको श्याम्घा आएर बसेका हुन भन्ने अनुमान गरिएको छ । (श्रोत – श्याम्घा र मेरो वंश कथा – हरिशरण शर्मा न्यौपाने ) । हुन त लमजुङको बोराङ् , विचौर र दुराडाँडा न्यौपानेहरुको घनाआवदी भएका क्षेत्रहरु हुन । बोराङ्बाट श्याम्घा आइपुगेका कान्छा बरुन्यौपानेको लामो समयसम्म सन्तान नहुँदा उहाँले मष्टयुक्त वराह कुलदेवता स्थापना गरी सन्तान वर माग्दा कुलदेवता प्रसन्न भइ दुर्गादास पुत्र प्राप्त भएको र तत्पश्चात न्यौपाने कुल मौलाउँदै गएको हो भन्ने गरिन्छ । उनै मष्टका प्रसाद दुर्गादासले तनहुँका राजा दिग्विजय सेनबाट श्याम्घाको मादीबेसीमा विर्ता पाएको कुरा जनश्रुतिमा उल्लेख भएता पनि सो को प्रमाण आजसम्म फेला पार्न सकिएको छैन । उनै दुर्गादाश वंशज धनञ्जय न्यौपानेले तनहुँ राज्यको प्रभावशाली काजी पदमा विराजमान भएको कुरा न्यौपाने वंशावली बताउँछ । काजी पदमा वहाल रहेको अवस्थामा नै उहाँले श्याम्घामा कलात्मक झ्याल—ढोकाहरु राखेर साततले विहार बनाउनु भएको कुरा श्याम्घा निवासी हरेक गाउँलेहरुको मुखबाट सुन्नमा पाइन्छ ।
आजको समयमा परम्परागत संस्कार र सामाजिक प्रतिष्ठाले न्यैपानेहरुलाई नराम्ररी च्याप्दै गइ रहेको पाउँदछौं । एकातिर सरकारी जागिर पाउनै मुस्किल हुँदै गइरहेको छ भने अर्कोतिर साविकको पैतृक कृषि पेशा दुःखको पेशा हुनाले क्रमस समाजमा तिरस्कृत हुँदै गइरहेको तितोसत्य हो । काम गर्ने व्यक्ति पनि नपाउने रसमाजमा हुनेखाने वर्गका न्यौपानेहरु दुःखको पेशा किसानी काम नगर्ने नै भए । किसानी गरे तापनि किसानी गरेर आएको आम्दानीले दैनिक घरखर्च धान्न पनि मुस्किल भए पछि उनीहरुको आर्थिक र सामाजिक स्तर दिनप्रतिदिन घटदै गएको छ । न्यौपानेका नयाँ पिढीहरुमा श्रमिकमा हुुन पर्ने गुणहरु पनि नहुनु र रोजाइका नयाँ व्यवसायमा आफुलाई ढाल्न पनि नसक्नु अभिशाप बन्न पुगेको छ । परम्परागत हिसावले न्यौपानेहरु आर्थिक सम्पन्नशाली देखिए तापनि व्यापार व्यवसाय गर्ने कला नभएकोले आर्थिक समृद्धिमा ठेस लाग्न पुगेको छ ा बैकल्पिक पेशा नअप्नाएमा न्यौपाने परिवारहरुको आर्थिक स्थिति दयनीय हुँदै नजाला भन्न सकिन्न । न्यौपानेहरु बेलैमा उद्यम र व्यवसाय उन्मुख हुनु पर्ने बेला आएको छ । परम्परागत खेती प्रणालीमा जीउन मुस्किल भए पछि जागिरे र व्यवसाय उन्मुख बन्नकै खातिर यहाँका न्यौपानेहरु पाथ्रा , कलेस्ती माझफाँट, दमौली , चितवन र काठमाण्डौमा गएर बसोबास गर्न थालेका छन् ।
न्यौपाने थर कसरी रह्यो भन्ने जिज्ञासा राख्दा भानु निवासी कमला न्यौपानेले हामी संँगको साक्षात्कारमा हरेक कुरामा नकरात्मक सोंंच राख्ने अर्थात निहुँ मात्र खोज्ने “पाना” (स्वभाव) भएकाले “निउ पाना”बाट निउपाने र निउपाने शव्द अपभ्रंश भइ न्यौपाने हुन गएको कुरा बताउनु भयो । तर न्यौपाने थर रहने विषयमा एउटा छुट्टै रोचक कथा भने यस्तो रहेको छ । एक पटक न्यौपानेका पूर्खाहरु सच्चिदानद चट्टोपाध्याय र सदानन्द चट्टोपाध्याय सुरक्षित वासस्थल खोज्दै कुमाउँगढबाट जुम्ला पुगेछन् । जुम्लामा पुग्दा त्यहाँका राजा केसरसिंहले आफ्नो राजसूय यज्ञको तयारी गर्दै रहेछन् । मन्त्रका प्रभावले यज्ञको लागि आवस्यक जल र अग्नी उत्पन्न गर्ने क्षमतावान न्यौपाने दाजुभाइले राजाको यज्ञमा आचर्य र ऋत्विगको पद पाइ यज्ञ सुसम्पन्न गरेका हुनाले जुम्लाका राजाबाट दाजुले आचर्य र भाइले नवपानीय पद पाएका रहेछन् । अन्ततः राजाबाट प्राप्त पद नै उनीहरुको थर बन्न जाँदा नवपानीय शव्द अपभ्रंश भएर न्यौपाने हुन गएको हो भन्ने कुरा वि.सं. १९५९ सदाशिवाचार्यद्वारा प्रकाशित आचर्य वंशावलीले बताउँछ भनिएको छ । (श्रोत – श्याम्घा र मेरो वंश कथा – हरिशरण शर्मा न्यौपाने ) ।
बेला बखतमा श्याम्घाका रैतीहरुले सपनकोटको वन फँडानी गर्दथे । एकपटक वन फँडानी गरे वापत समाज बसेर चुँदेरका चुमी मगरलाई डण्डा जरिवाना गरिएछ । डण्डा जरिवाना गराउने धनञ्जय नै हो भनेर चुमी मगर र धनञ्जय बीचको वनमुद्धा भुसको आगो झैं सल्कदैं गएछ । अन्तत ः वनमुद्धा सरकार वादीमा पर्न गएछ । धनञ्जय न्यापानेले वन फंडानी गरेको मुद्धा श्री ३ चन्द्र शमशेरकोमा उजुरी पर्न गएको रहेछ । वनफंडानी गरे वापत चन्द्रशमशेरले धनञ्जयलाई १२ वर्ष संजाय गरेका र अव आयन्दा यस्तो गर्दिन भनेर धर्म भकाउन लाग्दा नगरेको गल्तीको धर्म न भाक्ने र क्षमा पनि नमाग्ने भन्दै चन्द्रशमशेरलाई धननञ्जयले टेरपुच्छर नलगाई मानहानी गरेको आरोपमा श्री ३ चन्द्रशमसेरले उन्लाई थप दुइ वर्ष कारावास तोकेको हुनाले संजाय भोग्न ( संभवत १९१४– १९८६) परेको थियो ।
हालसम्म श्याम्घामाँ त्यहाँका न्यौपानेहरुको हाली मुहाली यत्रतत्र चलीरहेको पाउँछौं । आर्थिक, समाजिक, राजनैत्तिक र संस्कृतिक रुपले पनि न्यौपानेहरु माथि नै छन् । व्यासक्ष्ँोत्रका विषयमा विश्वभर पहिचान गराउनमा आफ्नो योगदान दिनेहरुमा सर्वप्रथम विद्वान काशीराम सुरी, योगि नरहरिनाथ पछि नरनाथ घिमिरे र रुद्रमणी अधिकारीहरुको नाम आउँछ । यस पछि क्रमस श्याम्घाका न्यौपाने वंशधर डिट्ठा अँशुमाली ,बद्रीन्यौपाने, कविराज प्रेमनाथ न्यौपाने र व्यासका अध्येता गुरु काशीनाथ न्यौपानेको नाम अग्रपक्तिमा पर्न आउँछ । यस वंशका हेमराज न्यौपाने वि.सं.२०२८ र २०३० सालको निर्वाचनमा श्याम्घा गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनु भएको थियो भने श्याम्घामा जन्मे हुर्केर दमौलीलाई कर्मभूमि बनाएर स्थानीय पालिकाको नगरप्रमुख पदमा दुइ÷दुइ पटक निर्वाचित भइ व्यास नगरपालिकाको नेतृत्व बहन गर्नेमा वैकुण्ठ न्यौपानेको नाम अग्रपंक्तिमा आउँछन । यसैगरी श्याम्घामा जन्मे हुर्केर व्यास ४ सितलचोकमा स्थायी बसोबास गर्ने विश्वराज न्यौपाने व्यास४को वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो
नेवार थर
श्याम्धा गाउँ पालिकामा नेवारहरुको घनाआवादी रहेको छ । धेरै लामो समय देखि यहाँ नेवारहरुको बसोबास सुरु भएको हो । नेवारहरु जन्मजात व्यवसायीक र परिश्रमी भएकाले व्यापार व्यवसाय चल्ने जुनसुकै ठाउँमा उनीहरु पुग्दछन् र सजिलै त्यस ठाउँमा एडजष्ट पनि हुने गर्दछन् । जहाँ नेवार पुग्छन् त्यहाँ नेवारे हटियाको सुरुआत हुने गर्दछ । नेवारहरु व्यापार व्यवसायका साथसाथै कृिषकर्ममा पनि ध्यान दिने हुनाले ब्राह्मण क्षत्रीहरु जस्तो डेन्जर जोनमा रहेको पाईदैन । कृषि भन्दा व्यापार व्यवसायनै प्रमुख पेशा भएकोले नेवार व्यापार व्यवसाय हुने ठाउँमा नै बस्न रुचाउँछन् । मुलत नेवारहरु कठमाण्डौ भक्तपुर र ललितपुर बाटै देशदेशावार पाँजिएका हुन । यहाँ आउने नेवारहरु मध्ये मेहरमान श्रेष्ठका खलक गोर्खा च्याङलिङबाट आएका हुन । उनीहरु श्याम्घा आइपुगेको पनि करिव करिव सात पुस्ता वितिसकेको छ । यसै गरी रिस्ती रम्घाबाट बसाइ सरी आउने रम्घाली नेवार परिवारमा शंकर बहादुर श्रेष्ठ र जयलाल श्रेष्ठका वंशजहरु पनि ठूलो समुहमा भेटिन्छन् । उपल्लो टहरा निवासी मणिसुन्दर श्रेष्ठ खलक र तल्लो टहरा निवासी तेजवीर नेवारका खलकहरु पनि श्याम्घामा नै रमेर बसेका छन् । यसै गरी खाकान खलक गोर्खाली परिवार ( लक्ष्मी प्रसाद श्रेष्ठका खलक), आरुघाटे परिवार ( गङगा प्रसाद श्रेष्ठका खलक) , भन्नानरायण श्रेष्ठका वंशजहरु सिमल्पानीमा बसोबास गरेका छन् । अहिले उनीहरु सिमलपानीको साथसाथै शेषटार, क्यामिन, सत्रसय र दमौली बजारमा पुगेर व्यापार व्यवसाय अंगालेका छन् । मेसिनमा उत्पादित कपडा नआउँदा सम्म यहाँका नेवारहरुले चर्खा कात्ने र तान् बुन्ने गर्दथे । उनीहरु घरवुना कपडा घरगाउँमै उत्पादन गर्दथे । त्यसैले आजसम्म नेवारहरु आफनो पैतृक पेशालाई दह्रो रुपमा अंगाल्दै आएका हुनाले बाहुन क्षत्री भन्दा सेफजोनमा रहेका छन् । कतिपय युवा नेवारहरु भने वैदेशिक रोजगारीको पेशा पनि अंगालेको पाउँदछौं ।
काफ्ले परिवार
काफ्ले नेपाल , भारत र बर्मामा पाइने बाहुन क्षत्रीहरुको एक थर हो । काफलेहरुको आस्पद ( यो भन्दा पहिलाको थर ) पन्त र पण्डित हो । यिनीहरुले मान्ने कुलदेवता र कुलदेवीमा विभिन्नता पाइएता पनि श्याम्घाली काफ्लेहरु कुलदेवतामा मष्ट र भवानीको पूजा गर्दछन् । वास्तवमा उनीहरुको गोत्र साण्डिल्य हो तर कतै कतै सावर्णी र कृाष्णञ्जनी पनि भन्ने गरेको पाइन्छ । कसैले पञ्चप्रवर मानेता पनि यहाँका काफ्लेहरु देवल, असित र साण्डिल्य जस्ता त्रिप्रवर चलाउँछन् । साण्डिल्य , जावाल वा जावाली र मैत्रेयी गोत्र पनि बताउने गर्दा कताकता यि काफ्लेहरु मातृसतात्मकबाट पितृसतात्मक तर्फ गएका हुन सक्ने अनुमान गर्ने ठाम मिलेको छ । हालको आच्छाम जिल्लाको काफलीकोट विर्ता पाएकाले स्थल शव्द काफलीकोट विग्रहित भएर काफ्ले थर बन्न गएको हो भनिन्छ । काफ्लेहरुमा साजी काफ्ले र बासी काफ्ले भन्ने दुइ उपभेद पाइएको छ । गाइभैंसीको दूध दुहेकै दिन तताएर विगौंती खाने काफ्लेहरु साजी काफ्ले र बिगौती तताउन साथ नखाई बासी बनाएर मात्र खानेहरुलाई बासी काफ्ले भनिने रहेछ भन्ने थाहा हुन आयो । यस विषयमा सोधनी गर्दै जाँदा श्याम्घाली काफ्नेह्रु साजी काफ्ले र जामुनेका काफ्लेहरु बासी काफ्ले भएको कुरा व्यास ६ निवासी ज्ञानेन्द्र काफ्लेले हामी संगको छलफलमा बताउनु भयो । श्याम्घामा पहिलो पाइलो राख्ने काफ्ले परिवारको मूलपुरुष केशव काफ्ले र नीजका छोराहरु दिनाखर काफ्ले र गोकुल काफ्लेहरु हुनुहुन्छ । यस वंशका कुलदीपक पुरुषोत्तम काफ्ले दमौली गाउँपञ्चायतमा दुइपटक निर्वाचित प्रधानपञ्च र राष्ट्रिय सहकारी महासंघको कार्यवाहक अध्यक्ष बन्नु भएको थियो भने खेमराज काफ्ले तीन पटक र चिरञ्जिवी काफ्ले २०३९ र २०४९समेतको निर्वाचनमा दुइपटक श्याम्घा गाउँपञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित भइ गाउँपञ्चायतको नेतृत्व बहन गर्नु भएको थियो ।
भण्डारी परिवार
भण्डारी नेपालमा पाइने क्षत्री र बाहुनहरुको थर हो । भण्डारीहरु कौशिक, धनञ्जय , भारद्वाज , माण्डव्य, वशिष्ठ, कस्यप र गौतम गोत्रका हुने गर्दछन् । वशिष्ठ गोत्रका सिञ्जापति भण्डारीहरुलाई थानसिङे भण्डारी भन्ने गरिन्छ । तर श्याम्घा निवासी भण्डारीहरुको गोत्र धनञ्जय र प्रवरहरु धनञ्जय, विश्वामित्र र मधुच्छन्द रहेको कुरा व्यास न.पा.४ का वडा सदस्य सरोज भण्डारीले बताए । भण्डारीहरु श्याम्घामा कहिले देखि आए एकिन साथ भन्न सकिंदैन तर श्याम्घालाई आवाद गर्ने परिवारहरु मध्ये भण्डारी परिवार ज्यादै पुरानो परिवार मानिन्छ । श्याम्घाको केन्द्रविन्दुमा रहेका भण्डारीहरु श्याम्घा क्रियापानी र अम्रेनीलाई गाउँ बेसीको पाइ गरेर बस्दथे । कास्की नाउँडाडाको दारेगौंडाबाट पूर्व लागेका तीनभाइ भण्डारी मध्ये एक भाइ भिमाद, एक भाई लमजुङ र एक भाई श्याम्घा क्रियापानीमा आएका हुन भनिन्छ । श्याम्घा आउने भण्डारी वंशकुलका मूलपुरुष श्रीकृष्ण ( मृत्यु १९५६) भण्डारी मानिन्छन । उनका वंशमा छोरा पुष्कर भण्डारी र नाती कालु भण्डारी देखिन्छन् । उनै कालु भण्डारी वीर मसानहरुलाई खेताला कजाएर आफ्ना सबै खेतको रोपाई गर्थे रे । वीर साधनाका कारण घरकी बुहारीको ज्यान गएको र घरमा आएर बालबच्चा रेखदेख गर्ने झाँक्रीको श्रीमती निधिनी गुरुमालाई दुष्टशक्ति मानेर मारिदिंदा झांक्रीले तेरो वंशमा तीनघर भन्दा कहिल्यै वंशवृद्धि नहोस भनेर श्राप गरेछन रे । त्यही भएर हो कि अन्य कुनै कारणले हो श्याम्घाली भण्डारी परिवारमा अहिले पनि तीन घर भन्दा बढी पैmलाएको देख्न पाइदैन । यही वंशका किरण भण्डारी वि.सं.२०५४ सालको चुनावमा श्याम्घा गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने वि.सं.२०७४ सालमा सूर्यभक्त भण्डारी व्यास न.पा. वड नं ६ को वडा अध्यक्ष पदमा र वि.सं.२०७९ को निर्वाचनमा व्यास ४ बाट सरोज भण्डारी वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
अन्त्यमा
श्याम्घा क्षेत्रलाई आफ्नो कर्मथलो बनाउने अन्य थरघरहरुमा भट्ट, कार्की ,दमै ,कामी, सार्की ,चुँदरा, मगर, गुरुङ, दरै र कुमालहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । श्याम्घाको सोरानी निवासी माननीय संविधानसभा सदस्य धु्रव वाग्ले, सेवाानिवृत प्राध्यापक डा.इश्वरवाग्ले , डा.उपेन्द्रकेशरी न्यौपाने , , श्याम्घाका प्रधान तथा उपप्रधानपञ्च ज्ञानेश्वर पौडे, प्रधानपञ्च चन्द्रराज शाही , उपप्रधानपञ्चहरुमा तिल बहादुर शाही, मणिसुन्दर श्रेष्ठ र नारायणप्रसाद श्रेष्ठ, महेश्वर पौडेल र केहेरसिंह कार्की अन्य थरघर तर्फका उज्ज्वल नक्षत्रहरु हुनुहुन्छ ।