काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडिदिने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र १ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र छाड्न सहमत भएको बताएका हुन्।
‘म तनहुँ जिल्ला १ नम्बर क्षेत्रको निर्वाचित माननीय तर अहिले गठबन्धनको कारणले, गठबन्धन र मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीको कारणले, गठबन्धनमा मिलाउनुपर्ने। जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई‚’ उनले भने, ‘अब उहाँलाई नै छाडेर शायद पार्टीले मलाई उपयुक्त ठाउँमा अहिलेसम्म कुरा हुँदा मधेश प्रदेशको बारा क्षेत्र नम्बर ४ मा चुनाव लड्नुपर्ला कि भनेर आदरणीय गठबन्धनका नेताहरूले भन्नुभएको छ।’
उनले गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छाड्नु परेको बताए। आफू बारा क्षेत्र ४ बाट उम्मेदवार बन्ने पनि उनले बताए। नेता श्रेष्ठले तनहुँ क्षेत्र १ का जनताले आफूलाई नै खोजेको भए पनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नका लागि सो क्षेत्र छाड्न तयार भएको स्पष्ट पारे।
‘मधेश प्रदेश मात्रै नभइकन सिंगो पार्टीको आदरणीय नेता नागेन्द्र चौधरी यहीँ हुनुहुन्छ‚ हाम्रो पार्टीको सचिव हुनुहुन्छ। उहाँकै नेतृत्वमा, उहाँकै छत्रछायाँमा म नेताहरुलाई अनुरोध गर्न चाहन्छु, सम्भव छ भने तनहुँ जिल्ला क्षेत्र १ का जनताले अहिले पनि नेकपा (एकीकृत समाजवादी) लाई खोजेको छ‚ मलाई खोजेको छ‚’ उनले भने, ‘अब होइन यही कारणले तनहुँ १ नम्बर क्षेत्रकै कारणले मात्रै गठबन्धन नै भत्किन्छ या एकदमै ठूलो समस्या आउँछ भने म एउटा पार्टीको इमान्दार सिपाही हुँ। पार्टीले गरेको निर्देशन, पार्टीले गरेको निर्णय, पार्टीले भनेको मान्ने एउटा इमान्दार सिपाही भएको कारणले मैले नेताहरूलाई अप्ठ्यारो नपार्ने गरी तपाईंहरूले उपयुक्त ठाउँमा मलाई खटाउनुस्।’
देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि निर्वाचन जित्ने आँट र साहस लिएर अगाडि बढेको उनले बताए।