दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट विश्राम लिने बेला नभएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–७ र ९ का विभिन्न ठाउँमा आज आयोजित कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले देशलाई सही बाटोमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेकाले आफूले विश्राम नलिने बताए।
वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको कारणबारे प्रष्ट पार्दै भने, “मेरो उम्मेदवारी राष्ट्रका लागि हो, नेपालको भविष्यको लागि हो र युवालाई रोजगारीको लागि हो ।”
व्यवस्था परिवर्तन भएपनि यसको सही व्यवस्थापन हुन नसकेकोले जनताको अवस्था बदलिन नसकेको पौडेलको भनाई थियो । उनले भने, “व्यवस्था बदलिएको छ यसलाई कायम गर्दै अवस्था बदल्नतिर मेरो कदम जारी रहेकोले त्यो पूरा गर्न राजनीतिमा सक्रिय छु ।”
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको भन्दै पौडेलले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे । गाउँमा सेवा र सुविधा पुगेपनि गाउँ रित्तिने क्रम बढेकाले त्यसलाई रोक्न उद्योग स्थापना, पर्यटन विस्तार, कृषि क्रान्ति आवश्यक रहेको पौडेलको भनाई थियो ।