बेवारिसे र बूढो गाईको संरक्षण गर्न गौ संरक्षण केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेवारिसे र बूढो गाईको संरक्षण गर्न गौ संरक्षण केन्द्र

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७९, शनिबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदी किनारमा गाईका भीड चरिरहेका देखिन्छन् । झट्ट हेर्दा यति धेरै गाई कसले पाल्यो भन्ने मनमा उब्जिन्छ ।

    मादी नदी किनार भतेरीमा गाई संरक्षण केन्द्र बनाइएको छ । गाई संरक्षण केन्द्रमा एक सय गाई छन् । छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित यहाँ व्यास नगरपालिकाको सक्रियतामा संरक्षण केन्द्र सञ्चालन गरिएको छ । संरक्षण केन्द्रमा व्यास नगरपालिकाभित्रका विभिन्न ठाउँहरुबाट ल्याउने गरिएको संरक्षण केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।

    “संरक्षण केन्द्रमा व्यास नगरपालिकाभित्रका गाईहरुलाई संरक्षण गर्दै आएका छौ, केहीले झुक्याएर अन्यत्रबाट पनि ल्याएका होलान्, त्यो अब थाहा हुने कुरा पनि भएन,” सापकोटाले भने।

    संरक्षण केन्द्रमा रहेका गाईहरुलाई खुवाउनका लागि परालको व्यवस्थापन व्यास नगरपालिकाले गर्दै आएको छ । गाई संरक्षण केन्द्रमा तीन जना कर्मचारी खटाइएको छ । उनीहरुको पारिश्रमिकको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ ।

    तीन जनामध्ये एक जनाले घाँस काट्ने काम गर्दै आएका छन् भने दुई जनाले संरक्षण केन्द्रभित्रै काम गर्ने गरेका छन् । गौ संरक्षण केन्द्रमा गाई ल्याउँदा एउटा गाईको रु दुई हजार शुल्क लिने गरिएको छ । संरक्षण केन्द्रमा सङ्कलन भएको रकम थप पराल खरिदका लागि खर्च गर्ने गरिएको छ ।

    बर्खाका बेला गाईलाई घाँसे मैदानमा चराउने गरिएको छ । “मादी नदी किनारमा हरियो घाँसे मैदानमा छ, त्यही मैदानमा गाई चराउने गरिएको छ,” सापकोटा भन्छन्, “हिउँदमा पराल खरिद गर्छौै ।”

    संरक्षण केन्द्रमा दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र वेवारिसे भएका गाईहरु ल्याउने गरिएको छ । “बूढा भएका गाईहरु मरे संरक्षण केन्द्र नजिक ५० मिटर तल रहेको खाल्डो नजिक राखिदिने गरेका छौ, मरेको गाई खान गिद्धहरु आउने गरेका छन्,” उनले भने “एउटा गाई एक दिनभरमा गिद्धले खाइसक्छ, हड्डी खाल्डोमा हालेर पुर्ने गरेका छौ ।”

    दुई सय रोपनी क्षेत्रफलमा फैलिएको गौ संरक्षण केन्द्रका कारण यहाँ आसपास गिद्ध देखिन थालेका छन् । गौ संरक्षण केन्द्रका कारण विगत केही वर्षयता लोप हुँदै गएको गिद्ध यहाँ आउने गरेका छन् । “गिद्ध देख्नै रहर भइसकेको थियो, अहिलेका युवा पुस्ताले त गिद्धका बारेमा जान्ने अवसर पनि पाउँदैनथे होला,” उनले भने, “एउटा गाई मरेका बेला यहाँ दुई सय भन्दा बढी गिद्ध आउँछन् ।” गौ संरक्षण केन्द्र आसपास सात किसिमका गिद्धहरु देखिन्छन् ।