दुलेगाैडा । नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् । बुधबार दुलेगौडामा आयोजित कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवासंघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रे, शुक्लागण्डकी नगरकमिटी, युवासंघ तनहुँको कमिटी एमालेमा समाहित भएको घोषणा गरिएको हो ।
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दिलबहादुर थापा, सानुमाया थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, नारायणदत्त वाग्ले, युवासंघका अध्यक्ष जीवन भट्टराई लगायत शुक्लागण्डकी नगर कमिटी सहित ४६१ जना एमालेमा समाहित भएको घोषणा गरिएको छ ।
कार्यक्रममा श्रेष्ठले कांग्रेसको पुच्छर बनेर हिँड्न नसकिने निष्कर्ष निकाल्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउन मूल घर फिर्ता भएको बताए । “कुनै पद प्राप्तिका लागि मूल घर फर्किएका होइनौ, पार्टीले दिने जुनसुकै जिम्मेवारी ग्रहण गर्न तयार छौ,” उनले भने ।
एमाले फर्किएकाहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, एमाले अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
सोही कार्यक्रममा कांग्रेसमा ३७ वर्षदेखि आबद्ध मनिराम परियार पनि एमाले प्रवेश गरेका छन् ।