सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७९, शुक्रबार

    काठमाडौ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    उक्त मुद्दामा बुधबारबाट थुनछेक बहस प्रारम्भ भएको थियो । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ मा मुद्दा दायर गरिएको थियो ।

    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० मा उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेको थियो ।—