दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्ने प्रक्रियाबारे सिकाउन र बदर मत न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्लाका पाँच स्थानीय तहमा नमूना मतदानको अभ्यास गराइएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँको समन्वयमा पाँच स्थानीय तहमा नमूना मतदानको अभ्यास गरिएको हो । जिल्लाका व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । बाँकी पाँच स्थानीय तहमा केही दिनमा नमूना मतदान गरिनेछ ।
नमूना मतदानले मतदातालाई मतदान गर्ने तरिकारबो जान्ने अवसर प्राप्त हुने विश्वास लिइएको छ । “यो निर्वाचनमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ, कतिपय मतदातालाई यसबारे थाहा नहुन सक्छ,” उनले भने, “मतदान गर्ने प्रक्रियाबारे जानकारी होस् र बदर मत न्यूनीकरण होस् भन्ने मुख्य लक्ष्य हो ।”
व्यास नगरपालिकाले बुधबार गरेको नमूना मतदानमा सहभागी व्यास–४ का देवनीधि पन्तले नबुझेका र बूढापाकालाई पनि मतदान गर्ने तरिकाबारे सिकाउनुपर्ने बताए ।
कार्यालयले जिल्लाका सबै पालिकाका वडास्तरमा मतदाता शिक्षा सञ्चालन गरेको छ । मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित दश पालिकाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।
निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका वडातहसम्म मतदाता शिक्षा सुरु गरिएको ढकालले जानकारी दिए । “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइनेछ,” ढकालले भने ।
मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ । मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । “उनीहरुले वडाका टोल टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्,” ढकालले भने ।