यी स्टारका फेरिन सक्छ गन्तव्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यी स्टारका फेरिन सक्छ गन्तव्य

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०७९, सोमबार

    काठमाडौ । विश्व फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता फिफा विश्वकपले धेरै खेलाडीलाई चिनाएको छ। जो राम्रा फुटबलर हुन्छन्, उनीहरूलाई स्टारको रूपमा स्थापित पनि गरेको छ।

    सरुवा बजार जनवरीमा खुल्दै छ। त्यसका लागि धेरै युवा खेलाडीले विश्व फुटबलका महारथि क्लबको ध्यान आफूतिर आकर्षित गर्ने अवसर पाएका छन्। विश्वकप नसकिँदै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र बार्सिलोनालगायतका क्लबहरूको नाम विश्वकपमा उदाएका स्टारसँग जोडिन थालिसकेको छ।

    जुड बेलिङ्घम (इङ्ल्यान्ड)

    यो सिजनको समाप्तीसँगै इङ्लिस मिडफिल्डर बेलिङ्घमले सरुवा बजार तताउने निश्चित छ। बोरुसिया डर्टमन्ड उत्कृष्ट युवा खेलाडी उत्पादन गरेर बेच्न माहिर छ। अर्लिङ हालान्ड, रोबर्ट लेवान्डोस्कीजस्ता खेलाडी यसका उत्पादन हुन्। यो सूचीमा बेलिङ्घम अर्को नाम हुन सक्छन्।

    बेलिङ्घमका लागि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मन (पीएसजी)ले नजर राखिरहेको छ। कतारमा जारी विश्वकपमा इङ्ल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा बेलिङ्घमको प्रदर्शन उत्कृष्ट रह्यो।

    एज–एडिन ओनाही (मोरक्को)

    अफ्रिकाबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम मोरक्को बन्दा ओनाहीको प्रदर्शनले धेरैलाई प्रभावित पारेको छ। जारी विश्वकपमा स्पेनको प्रशिक्षण सम्हालेका लुइस इनरिकेले उनको खुलेर प्रशंसा गरेका थिए। ‘उनी राम्रो खेल्न सक्छन्’, पेनालटी सुटआउटमा मोरक्कोसँग पराजित भएपछि इनरिकेले भनेका थिए, ‘उनी कुनै हदमा पनि दौडिन छाड्दैनन्। उनी राम्रा खेलाडी हुन्।’

    बल पोसेसन आफूसँग हुँदा साँच्चै लोभलाग्दो प्रदर्शन गर्ने २२ वर्षीय ओनाहीले मैदानमा बल लिएर दौडिन सक्ने क्षमता देखाएका थिए। हाल फ्रेन्च क्लब एन्जर्सबाट खेलिरहेका ओनाही आगामी सरुवा बजारमा आकर्षणको केन्द्र बन्न सक्छन्।

    कोडी गाक्पो (नेदरल्यान्ड्स)

    पीएसभी आइन्डोभनका फरवार्ड गाक्पो लामो समयदेखि म्यानचेस्टर युनाइटेडको राडारमा भएका खेलाडी हुन्। क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै युनाइटेडको चासो उनीमाथि बढेको छ। समूह चरणमा तीन गोल गरेका गाक्पोले ‘प्रोफोलिक स्ट्राइकर’को क्षमता देखाएका छन्।

    एरिक टेन हाग युनाइटेडमा यस्तै खेलाडीको खोजीमा छन्।‘समयसँगै धेरै कुरा परिवर्तन हुन्छ। कोडीसँग स्टार बन्न चाहिने सबैकुरा छ’, डच प्रशिक्षक लुइस भान हालले भनेका छन्।

    गोन्कालो रामोस (पोर्चुगल)

    विश्वकपमा रामोसले जतिको सनसनीपूर्ण प्रभाव लगभग कसैले देखाएन्। स्विट्जरल्यान्डविरुद्धको खेलमा रोनाल्डोको स्थान लिएका रामोसले विश्वकपको पहिलो र हालसम्म एक मात्र ह्याट्रिक गरेका थिए।
    कतार आउनुअघि नै बेन्फिकामा उत्कृष्ट लयमा रहेका २१ वर्षीय रामोसले १४ गोल गरिसकेका छन्। विश्वकपमा पहिलो रोजाइमा परेको पहिलो खेलमै ह्याट्रिक गरेका रामोसमाथि ठूला युरोपेली क्लबको नजर पक्कै रहने छ।

    जोस्को भार्डियोल (क्रोएसिया)

    अनुहारको चोटका कारण फेस मास्क लगाएर मैदानमा उत्रिएका भार्डियोलले क्रोएसियाका लागि साँच्चै उत्कृष्ट प्रदर्शन गरे। क्रोएसिया सेमिफाइनलसम्म पुग्दा ब्राजिल र बेल्जियमविरुद्ध भार्डियोलको प्रदर्शन उत्कृष्ट थियो। जर्मन क्लब आरबी लाइपजिगका २० वर्षीय डिफेन्डर भार्डियोललाई अनुबन्ध गर्न ठूला युरोपेली क्लबहरू बजारमा उत्रिने छन्।

    सेमिफाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा लियोनल मेसीले बिट गरेको पल उनका लागि बिर्सन लायक रह्यो। तर, त्यो पनि आफ्ना लागि सकारात्मक रहेको भार्डियोलले बताएका छन्।‘त्यो क्षणले गर्दा म मेरा सन्ततीलाई मेसीजस्ता उत्कृष्ट खेलाडीविरुद्ध रक्षा गर्ने मौका पाएको सुनाउन पाउने छु’, भार्डियोलले भने।