काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार क्लबहरू बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् ।
शीर्ष स्थानको बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई १-० ले हरायो । पेड्रीले रफिन्हाको पासमा खेलको ३५औं मिनेटमा गरेको गोल नै बार्सिलोनालाई तीन अंक दिलाउन निर्णायक बन्यो ।
जितपछि बार्सिलोनाले रियलमाथि ६ अंकको अग्रता बनाएको थियो । तर रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई २-० ले हराएर अंक दूरी छोट्यायो । रियलका लागि करिम बेन्जेमाले २४ औं र टोनी क्रुसले इन्जुरी टाइममा गोल गरे ।