किसानलाई मन्त्री बनाउन माधवलाई दबाब
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किसानलाई मन्त्री बनाउन माधवलाई दबाब

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वसँग असहमति प्रकट गर्दै नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी भएको छ । नेकपा एसले महासचिव वेदुराम भुसालको नेतृत्वमा कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) सहित प्रकाश ज्वालालाई मन्त्रीमा लैजाने तयारी गरेको छ ।

    भुसाललाई महासचिवबाट अवकाश दिएर सरकारको नेतृत्वमा पठाउने र किसान श्रेष्ठलाई नेकपा एस निर्माणमा महत्वपूर्ण योगदान वापत मन्त्री बनाउन लागिएको हो । 

    २०७४ सालको निर्वाचनमा तनहुँबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गरी निर्वाचित श्रेष्ठले केपी शर्मा ओलीको साथ छाडेर एमाले विभाजनको बेला माधवकुमार नेपाललाई साथ दिएका थिए । 

    त्यसपछि माधव नेपालकै आग्रहमा उनले २०७९ साल मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रैसका वरिष्ठ नेता एवं हालका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई तनहुँ छाडेर बारा गएका थिए । 

    बारा ४ मा पनि निर्वाचन जितेपछि उनी अहिले स्वतः मन्त्रीको दावेदार रहेका कारण पनि एस पार्टीका अध्यक्ष नेपालको रोजाइमा परेका हुन् । 

    मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले सरकारमा जाने इच्छा देखाएपछि किसान श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन हुने नेकपा एसका एक नेताले बताएका छन् । 

    उनले भने, ‘गठबन्धनका कारण सिट छाडेको तनहुँबाट रामचन्द्रजी राष्ट्रपति हुनु हुने भयो अब किसान कमरेड मन्त्री बन्नु त आश्चर्य नै भएन नि । उहाँ मन्त्री नबने मात्र आश्यर्च हो । माधव कमरेड मन्त्री नबनाएमात्र दबाबमा पर्नुहुनेछ । अहिले त मन्त्री बनाउनु पर्ने वाध्यता जस्तै छ ।’ 

    गठबन्धनमा देखिएको सिट संख्यालाई हेर्ने हो भने ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रोमा छ । 

    तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राजमोको एक सीट छ । 

    जसले गर्दा एस पार्टीलाई तीन वटा महत्वपूर्ण मन्त्रालय दिने अनौपचारिक रुपमा सहमति भएको छ । सो सहमति अनुसार नै एस पार्टी भुसाल र श्रेष्ठलाई सरकारमा पठाएर महासचिवमा घनश्याम भुसाललाई ल्याउन तयारी गरिएको छ । 

    सरकारमा जानका लागि राजेन्द्र पाण्डे, भानुभक्त जोशी, प्रेमबहादुर आले लगायतका नेताहरुले पनि इच्छा व्यक्त गरेका छन् । (हाम्राकुराबाट)