भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भद्रपुर झापा गोल्डकपको उपाधि आर्मीलाई

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, मंगलवार

    झापा झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

    निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको समयमा पनि दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले रोकेका थिए ।

    आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके । टाइब्रेकरमा आर्मीका दीपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे भने मछिन्द्रका लागि दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरेका थिए ।

    जितसँगै आर्मीले रू १३ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता मच्छिन्द्रले रू सात पुरस्कार प्राप्त ग¥यो । खेलको ७३औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि दुवैजनाले रातो कार्ड पाएका थिए ।

    त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उदियमान खेलाडी मछिन्द्रका सौरव राई र उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार पाए ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले रु एक लाख पुरस्कार पाए ।