सडकमा फेरि सास्ती : निर्वाचित भएको १६ घण्टामै राष्ट्रपति पौडेल पनि आलोचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सडकमा फेरि सास्ती : निर्वाचित भएको १६ घण्टामै राष्ट्रपति पौडेल पनि आलोचित

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं। निर्वाचित हुनु अगाडि आफैंले दिएको अभिव्यक्ति उन्लंघन गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बिहान मन्दिर दर्शनमा निस्कँदा सर्वसाधारणलाई सास्ती भएको छ।

    निर्वाचित भएको १६ घण्टामै राष्ट्रपति पौडेल गुहेश्वरी र पशुपतिनाथको दर्शनमा निस्केका थिए। उनको स्वागतमा ‘रातो कार्पेट बिछ्याउने’ बाहेक अरु सबै तामझाम पुरानै जस्तो देखिन्थ्यो। ‘जो आए पनि हामीलाई सास्ती मात्रै हुनेरहेछ’ राष्ट्रपतिको सवारी भन्दै प्रहरीद्वारा हटाइएका दर्शनार्थीले भने–‘भगवानको शरणमा आउँदा सबै सानै हुने हो। भगवानको नजरमा भीआईपी र सर्वसाधारण भन्ने हुन्छ र?’

    पौडेल राष्ट्रपति निर्वाचनमा भाग लिइरहँदा ‘गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ’ भन्ने आफूले देखाउने बताएका थिए । उनको आशय राष्ट्रपतिको भ्रमणमा जनताले विगतमा जस्तो ‘दुःख र सास्ती’ पाउने कुनै गतिविधि नगर्ने भन्ने थियो।

    बिहीबार साँझ ७ बजे निर्वाचित भएको प्रमाणपत्र लिएका राष्ट्रपति पौडेलले त्यसको १६ घण्टापछि अर्थात् शुक्रबार बिहान ९ बजे जनतालाई सास्ती हुनेगरी लावालस्कर लिएर मन्दिर दर्शन गरेका हुन्।

    बिहानको यो समय कर्मचारी कार्यालय जाने र विद्यार्थी स्कुल जाने समय हो। उनको सवारीले मन्दिर परिसरमा भीड र सडकमा समेत असर पुगेको थियो ।

    पौडेलले पशुपतिनाथको दर्शन गरी गुरुबाट प्रसाद ग्रहण गरेका थिए। सो क्रममा राष्ट्रपति पौडेलले पशुपतिनाथ परिसरमा पूजा अर्चनासमेत गरेका थिए । त्यसै समयमा उनले गुहेश्वरी मन्दिरको पनि दर्शन गरेका थिए । (नेपाल भ्युज डटकमबाट)