शुक्लागण्डकीका सुरजको लोभलाग्दो मौरीपालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    शुक्लागण्डकीका सुरजको लोभलाग्दो मौरीपालन

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७९, सोमबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै पनि विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे आम्दानी र सन्तुष्टि मिल्ने आत्मविश्वास वाग्लेमा थियो ।

    विदेश जानुको साटो वाग्लेले तीन वर्षअगाडी मौरीपालन व्यवसाय सुरु गरे। मौरीपालनबाट वाग्लेले मनग्य आम्दानी गर्दै आएका छन् । “विदेशमा गर्ने दुःख स्वदेशमा नै गर्दा आत्मसन्तुष्टिसँगै आम्दानी पनि मिल्छ,” वाग्लेले भने, “मलाई विदेश जाने सोच कहिल्यै आएन । बरु स्वदेशमै केही उद्यम गरौं भन्ने पहिल्यैदेखि लागिरहन्थ्यो ।”

    वाग्लेले मह विक्री गरेर गत वर्ष रु छ लाख आम्दानी गरे। यो वर्षको मङ्सिर महिनामा मात्रै रु तीन लाखको मह विक्री गरिसकेको वाग्लेले बताए। फूलको रसको मह प्रतिकिलो रु दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रु दुई हजार पाँच सयमा विक्री हुँदै आएको छ ।

    मह विक्रीका लागि बजारको समस्या नरहेको वाग्लेको भनाइ छ । “मह विक्रीका लागि अहिलेसम्म बजार खोज्नुपरेको छैन, घरमै मह किन्न आउँछन्,” वाग्लेले भने, “घरमै बसेर मौरीपालन गर्दा आम्दानी र आत्मसन्तुष्टि दुवै मिलेको छ ।”

    हाल उहाँले ८० वटा घारमा मौरीपालन गर्दै आएका छन् । जेठ र मङ्सिर महिनामा मह विक्री हुँदै आएको छ । मौरीका लागि वनजङ्गलमा पर्याप्त फूल रहेकाले व्यक्तिगत रुपमा फूल लगाउन नपरेको वाग्ले बताउँछन् । “मौरी चर्न वनमा जान्छन्, चरणको पनि समस्या छैन,” वाग्लेले भने।

    वाग्लेले महका साथै मौरीसहितको घार विक्री गर्दै आएका छन् । केही दिनमा एक सय ५० वटा मौरीसहितको घार विक्रीको तयारी गरिएको छ । प्रतिघार रु दश हजारमा विक्री हुने उनले बताए । कृषि ज्ञान केन्द्रले मौरीसहितको घार खरिद गरिदिन लागेको छ । “कृषि ज्ञान केन्द्र तनहँुले पाँच सय वटा मौरीसहितको घार मागेको थियो, मेरो एक सय ५० वटा विक्री गर्दैछु, बाँकी अन्य साथीहरुले बेच्नुहुन्छ,” वाग्ले भन्छन्। फागुनदेखि वैशाखसम्म माउ मौरी विक्री गरिन्छ ।

    वाग्लेको घरमा पालिएका मौरी कहिलेकाँही घार छाडेर भाग्ने गर्छन् । घरदेखि एक दुई किलोमिटर टाढा पुगेका मौरी वाग्लेले खोजेर ल्याउँछन् । त्यस्तोबेला उहाँले छातीमा टाँसेर मौरी फिर्ता ल्याउने गरेका छन्। बेला–बेलामा मौरी भाग्ने गरेको पुनः फिर्ता ल्याउने गरेको वाग्ले बताउँछन्।

    प्रत्येक वर्ष फागुनदेखि जेठ र मङ्सिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउँछन् । “अनि यसरी नै फेरि खोजेर ल्याउँछु, मौरी ल्याउने पनि विभिन्न तरिका हुन्छन्,” वाग्लेले भने।

    वाग्लेले मौरीको साथसाथै बाख्रापालन पनि गरेका छन् । उनकाे बाख्राफार्ममा हाल २४ वटा बाख्रा छन् । “यो पेशासँग लगाव बसिसकेको छ, आनन्द आउँछ । कतिपयले युवा भएर पनि के काम गरेको यस्तो पनि भन्थे,” उनले भने, “तर अहिले मनग्य आम्दानी हुन थालेपछि गाउँलेले पनि राम्रो गरिसँ भन्छन् ।”

    उनी कलाकारितामा पनि उत्तिकै प्रख्यात छन् । हाँस्यव्यङ्ग्यमा सक्रिय वाग्ले जिल्ला र जिल्लाभन्दा बाहिर आयोजना हुने मेला महोत्सवमा पुगेर प्रस्तुती दिन्छन् ।