व्यासकाे कार्यपालिका बैठक : राष्ट्रपति पौडेललाई बधाई, अरु के भए निर्णय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासकाे कार्यपालिका बैठक : राष्ट्रपति पौडेललाई बधाई, अरु के भए निर्णय ?

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले राष्ट्रपतिमा निर्वाचित भएकामा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । व्यास नगरपालिकाको मङ्गलबार सम्पन्न कार्यपालिकाको बैठकले व्यास नगरपालिका–८ बाहुनपोखरामा जन्मनुभएका नेपालको लोकतान्त्रिक आन्दोलनका नेता पौडेललाई राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको हो ।

    व्यास नगरपालिका जन्मघर हुनुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा व्यास नगरपालिकाको गौरव बढेको बताउँदै नगरप्रमुख वैकुण्ठ न्यौपानेले उनकाे सफल कार्यकालको कामना व्यक्त गरिएको जानकारी दिए।

    बैठकले व्यास नगर शिक्षा नियमावली, २०७६ लाई पाँचौ संशोधन प्रस्ताव र स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका विज्ञापन कर निर्देशिका, २०७९, पशु प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९ बैठकमा कार्यपालिका सदस्यहरुले अध्ययन गरी आगामी बैठकमा संशोधन प्रस्ताव सहित राय दिन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

    व्यास नगरपालिकाको फोहरलाई घरघरबाट छनोट गर्ने प्रक्रिया अघि बढाउने र नगरपालिकाको अव्यवस्थित मोटर ग्यारेजहरुलाई व्यवस्थित गर्ने सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरिएको थियो ।

    बैठकले व्यास नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १०, १२ र १४ वडाहरुमा चैत मसान्तभित्र सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको छ । साथै व्यास–१० स्थित वैरेनी जग्गा विकास आयोजनाको निर्माण कार्य चैत ९ गतेदेखि शुभारम्भ गर्ने निर्णय भएको प्रवक्ता कुमार गुरुङले बताए।

    बैठकले व्यास–१४ को केशवटारमा रहेको कृषि कार्यालयको खाली पक्की भवनमा प्रहरी चौकी व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

    कार्यालयमा कार्यरत स्थायी अधिकृत मेघनाथ आचार्य र करार सेवाका अधिकृत विमल गिरीले पदबाट राजिनामा दिनुभएकामा उनीहरुकाे राजिनामा स्वीकृत गरिएको छ ।