दमौली । नेपाल राष्ट्रिय शिक्षक संगठन भिमादले नगरपालिकाको शिक्षा शाखामा नेपाली कांग्रेसले लगाएको ताला खोल्न माग गरेको छ । संगठनका अध्यक्ष सुरज लम्साल र सचिव रामशरण भण्डारीले शनिबार विज्ञप्ती जारी ताला खोल्न आग्रह गरेका हुन् ।
विभिन्न माग राख्दै कांग्रेस भिमाद नगर समितिले शुक्रबार शि़क्षा शाखामा तालाबन्दी गरेको थियो ।
विज्ञप्तीमा पेसागत सङ्घ सङ्गठन मार्फत वार्ता र संवादको माध्यमबाट समस्याको समाधान नखोजीकन अभद्र शैलीमा शाखाको नियमित कार्यक्रममा असर पर्ने गरी क्रियाकलाप सृजना गरिएकामा आपत्ति जनाइएको छ । ‘ जसको असर प्राथमिक तहको नेपाल सरकार शिक्षक सेवा आयोगबाट सिफारिस भई भिमाद नगरपालिकामा पदस्थापनका लागि आउनुहुने शिक्षक साथीहरूमा प्रत्यक्ष असर पर्ने हुँदा बिना शर्त ताला खोली नगरपालिकाको शिक्षा शाखाको नियमित कार्य सुचारु गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।