किन भत्काइदैँछ तालबाराही मन्दिर ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    किन भत्काइदैँछ तालबाराही मन्दिर ?

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०७९, शुक्रबार

    पोखरा । पोखरेली पर्यटनको पर्यायवाची फेवाताल । विशाल फेवाताल बीच आश्चर्य लाग्दो थुम्कामा तालबाराही मन्दिर ।

    पोखरा घुम्न आएका अधिकांश डुुंगा शयर गर्दै तालबाराही मन्दिर पुग्छन् । प्यागोडा शैलीको त्यहीं तालबाराही मन्दिरलाई यतिबेला धमाधम भत्काइदैछ ।

    तालवाराही पुगेका भक्तजनले अहिले २ तले पुरानो मन्दिरको अवशेष मात्रै दर्शन गर्न पाउँछन् । त्यहाँको मुर्ति सानो मन्दिरमा सारेर दर्शनार्थीलाई पुजा अर्चना गर्ने व्यवस्था मिलाइएको छ । मन्दिर पुग्ने धेरैको जिज्ञासा हुन सक्छ किन भत्काइयो मूल मन्दिर ? भुकम्पको धक्काले चर्काएको मन्दिरलाई पुननिर्माण गर्न भत्काइएको हो ।

    भूकम्पले चर्काएको ७ वर्षपछि बल्ल पुननिर्माणको तारतम्य मिलेको छ । भुकम्प अगावै पनि मन्दिरको दक्षिणतर्फ रहेको आँपको बोट सुक्दा त्यसको जराको असरले मन्दिर चर्किनुको साथै ३ इन्च ढल्किएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुवँर बताउँछन् ।

    ‘विभिन्न चरणमा पुरातत्व विभाग गुठी संस्थानका इ​िन्जनियरहरु ल्याएर देखायौं । मिलाउने कुरा मिलाउने भन्ने भइरहेको थियो’, उनी भन्छन्, ‘माटो कम भाको ठाउँ यो । जमिनै कम भाको ठाउँमा जिर्ण भइसकेको अवस्थामा सानोतिनो भुकम्पको धक्काले पनि लथालिंगै पार्ने अवस्था भएकाले पुननिर्माण गर्नैपर्छ भनेर सुरु ग¥यौं ।’

    तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरारातत्व विभाग र गुठी संस्थानसँग सहकार्य गरेर मन्दिरको जिर्णोदार सुरु गरेको हो । इन्जिनियर, पुरातत्वविद्को अनुगमन, भौगोलिक अवस्था अध्ययनपछि पुननिर्माण सुरु गरिएको कुवँरले बताए ।

    मन्दिरको मन्दिर पुनर्निर्माण शुरू गर्नुअघि चैत १७ गतदेखि २ दिनसम्म क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको छ । अबको १० महिनामा पुननिर्माण सक्ने लक्ष्य रहेको अध्यक्ष कुवँरले जानकारी दिए ।

    मन्दिरका पुराना पुरातात्विक महत्वसँग जोडिएका सामग्री प्रयोग गर्ने शर्तसहित पुननिर्माणमा एक करोड ४४ लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष परशुराम पहारीले बताए । उनका अनुसार पुरातत्व विभागले २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । गुठी संस्थानले पनि बजेट दिने आश्वासन भने दिएको छ ।

    मन्दिर गुठी व्यवस्थापन समितिसँग पनि बजेट नहुँदा रकम अपुग भएको छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीसँग दैनिक सहयोग उठाउन थालेको पहारीले बताए । ‘सहयोग उठाउन थालेपछि भक्तजनले झन्डै ७५ लाख रुपैयाँ मन्दिर पुननिर्माणमा दान गर्नुभएको छ’, उनले भने । तीनै तहका सरकारसँग बजेट माग्ने उनले बताए ।

    मन्दिर भत्काउने क्रममा निकालिएका काठपात पुरातत्व विभागबाट खटिएका कर्मचारीले ‘नम्बरिङ’ सँगै मुचुल्का उठाएर सुरक्षित राखिएको छ । तिनै काठपातको प्रयोगले मन्दिर पुननिर्माण गर्र्न १ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको हो । तर, ति काठपात काम नलाग्ने गरेर कुहिएकाले लागत बढ्ने तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव धुर्वराज बरालले बताए ।

    ‘पुरातत्व विभागले स्टेमेट गरेर दिएको लागत बढ्ने पक्का छ । किन भन्दा हामीले जति सोचेका थियौं काठपात पुर्नप्रयोग हुन्छन् भनेर त्यस्तो नरहेछ’, उनले भने, ‘टुँडाल मात्रै हल्का प्रयोग गर्न मिल्ने देखियो । भत्काउदाखेरी भित्री काठ कुनै पनि प्रयोग गर्न नमिल्ने छन् ।’

    मन्दिरको पुननिर्माण थालेसँगै वृहत गुरुयोजना बनाउन इञ्जिनियर डा. भरतराज पहरीको संयोजकत्वमा ७ सदस्यीय इञ्जिनियहरुको समिति नै बनाइएको छ । पटकपटक भत्काउने, बनाउनुभन्दा गुरुयोजना अनुसार काम गर्ने बताइएको छ । गुरुयोजना बनाएर तालबाराही मन्दिरलाई अझ आकर्षक बनाउन झन्डै १५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
    आस्थाको धरोहरको रुपमा रहेको तालबारही मन्दिर विक्रम संवत १४४७ सालमा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ ।

    भत्काउँदै गरेको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण गरिएको जानकारहरु बताउँछन् । राजा महेन्द्र पोखरा आएको बेला जिर्णोदार गर्न पहल गरेपछि प्यागोडा शैलीमा २ तले मन्दिर बनाइएको थियो । त्यो भन्दा पहिले खरले छाएको सानो मन्दिर थियो ।