मेरो ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिनुहोला: रवि लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मेरो ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिनुहोला: रवि लामिछाने

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।

    सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- आज बिहान  प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छत बाट खसेर दुर्घटनामा पर्नु भयो। सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि  मैले चिकित्सकसँग  परामर्श गरेअनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ।

    यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन्।

    ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर  राजनीतिकरण नगर्नुहोला,’ उनले लेखेका छन्,‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला।’

    लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

    अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर  कालुराम राजवंशीलाई प्रहरी कार्यालयमा ल्याइएको छ। 

    ‘सोधपुछका लागि हामीले उहाँलाई कार्यालयमा बोलाएका हौं,’ चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने। 

    यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए।

    सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।

    एसपी कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।

    ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।

    सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।

    प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

    ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।

    प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।

    अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।