मुख्यमन्त्री अधिकारी सम्पत्तिः १५ लाख नगद, ३ तोला सुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्री अधिकारी सम्पत्तिः १५ लाख नगद, ३ तोला सुन

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, शुक्रबार


    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेको १०० दिनपछि बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग सम्बन्धी ऐनमा ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ

    शनिबार मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत लिदैछन् । उनको पक्षमा बहुमत सांसदले समर्थन नगर्ने पक्का छ । पद जाने बेलासम्म पनि सम्पत्ति विवरण नबुझाएकोमा आलोचना भएपछि मुख्यमन्त्री अधिकारीले जाने बेलामा सम्पत्ति विवरण गरेका हुन् ।
    मुख्यमन्त्री अधिकारीले जग्गा, सुन, बैंक मौज्दात, शेयर, गाडी सम्पत्ति विवरणमा खुलाएका छन् ।

    पोखरा महानगरपालिका–१२ मा ६ आनामा बनेको २ करोड मुल्य पर्ने घर भएको सार्वजनिक सम्पत्ति विवरणमा छ । पैत्रिक सम्पत्ति विक्रिबाट घर खरिद गरेको स्रोतमा उल्लेख छ ।

    आमाको अंशबाट शेषपछि संयुक्त पुर्जा भएको पोखरा महानगरपालिका–३१ मा जग्गा रहेको उल्लेख छ । ८ ठाउँमा भएको जग्गा कति क्षेत्रफल हो स्पष्ट छैन ।

    स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र ३ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सहकारी र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।

    खगराज अधिकारीको नाममा गण्डकी विकास बैंकमा २ हजार ४९९ कित्ता शेयर छ । मुख्यमन्त्री अधिकारीले शेयर प्राप्तिको स्रोत कृषि आम्दानी देखाएका छन् । कृषि फसलबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुनेसमेत विवरणमा उल्लेख छ ।

    मुख्यमन्त्री अधिकारीको नाममा ५० लाख रुपैयाँ पर्ने स्कार्पियो छ । ५० लाख रुपैयाँ मुल्य पर्ने बाग्मती प्रदेश ०१–२६ च ८७५२ नम्बरको स्कार्पियो २०७८ मंसिरमा खरिद गरेको जनाइएको छ । आइ २० कार केदार थपलियालाई बेचेर त्यसैमा थपेको रकमले स्कार्पियो किनेको विवरणमा उल्लेख छ । थपलिया नाताले मुख्यमन्त्री अधिकारीका साला पर्छन् । उनी अधिकारीको सहयोगी समेत हुन् ।

    अग्रगामी कृषि फर्ममा मुख्यमन्त्री अधिकारीकि श्रीमति रमा पाण्डेको नाममा १६ लाख रुपैयाँ लगानी छ । निर्माणधिन चितवन फिस वेभ रिर्सोटमा पनि श्रीमतिकै नाममा २० लाख रुपैयाँ लगानी रहेको उल्लेख गरिएको छ ।

    प्रभु बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर काठमाडौंको चन्द्रागिरीमा श्रीमति रमाको नाममा ८ आना जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ । तर, जग्गा किनेको ऋण तिरे नतिरेको खुलाइएको छैन । २०७८ मा जेठ १८ गते प्रभु बैंकबाट ऋण लिएको देखाएका छन् ।

    मुख्यमन्त्री अधिकारीको श्रीमति पाण्डे प्रावि दरबन्दीको शिक्षक भएकाले उनले आफैंले सम्पत्ति विवरण बुझाएको उल्लेख छ ।
    मुख्यमन्त्री अधिकारीले माघ १२ गते सम्पत्ति विवरण बुझाएको उल्लेख छ । तर, शुक्रबार मात्र सार्वजनिक गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण सार्वजनिक भएको हो । ‘माननीय मुख्यमन्त्री लगायत सबै माननीय मन्त्रीज्यूहरुको सुरु नियुक्तिको ६० दिन भित्र पेश गर्नु भएको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त भएको छ’, वेभसाइटमा उल्लेख छ । तर, मुख्यमन्त्री बाहेक अरु मन्त्रीको सम्पत्ति विवरण भने वेभसाइटमा उपलब्ध छैन ।

    गण्डकीमा मुख्यमन्त्री सहित ७ मन्त्री थिए । माओवादीका २ मन्त्रीले चैत १० गते नै राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् ।
    राजिनामा दिएका माओवादीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीको पनि सम्पत्ति विवरण प्राप्त भएको भनिएको छ, वेभसाइटमा उपलब्ध छैन ।

    सबैको अनुमति लिनुपर्दा सम्पत्ति विवरण सार्वजनिकमा ढिलाइ भएको मुख्यमन्त्री अधिकारीले दाबी गरे । ‘मेरो त डे वानमै गरेको । क्याबिनेटले निर्णय गर्दिनप¥यो भन्ने ब्युरोक्रेसी । मैले त भइसक्यो भन्ठानेथे । डे वानमै गर्नुस भन्या हो मैले’, शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा अधिकारीले भने ।

    उनले थपे, ‘तपाईंको केन्द्रका मन्त्रीहरु छोडेर हिनिसके । रवि लामिछानेकै पनि पाउनुभयो कि भएन मलाई थाहा छैन । नैतिकताको कुरा उठाउने नयाँ साथीहरुले पनि ग¥या छैनन् । तर, मैले समयभित्रै ग¥याछु ।’ उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न कुनै आपत्ति नरहेको दाबी गरे ।