तनहुँ १ः सय बढी केन्द्रका मतपेटिका आयो, २ दिनमा गणना सक्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ः सय बढी केन्द्रका मतपेटिका आयो, २ दिनमा गणना सक्ने तयारी

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८०, आईतवार

    दमाैली । तनहुँ १ मा भएको उपनिर्वाचनमा एक सय बढी मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपु¥याइएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले भने, ‘एक सय प्लस आइसकेको छ । अरु बुझ्ने क्रममा छौं ।’ १५२ केन्द्रमा मतदान भएको हो ।

    राती १० बजेसम्म सबै मतपेटिका आइपुग्ने उनले जानकारी दिए । ‘देवघाटतिरका केही केन्द्रहरु अलिक टाढा छन् । १० बजेसम्म त्यहाँबाट पनि आइपुग्छन् की भन्ने अनुमान छ’, उनले भने ।
    सबै केन्द्रबाट मतपेटिका आएपछि गणना सुरु हुने उनले बताए । ‘सबै केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय छलफल हुन्छ । उहाँहरुले रातीबाटै सुरु गरौं भन्नु भो भने रातीबाटै सुरु हुन पनि सक्छ’, उनको भनाइ छ । १० बजेभित्र सबै मतपेटिका संकलन भएको खण्डमा दलहरु पनि मतगणनाका लागि तयार छन् ।

    जिल्ला समन्वय समिति तनहुँमा मतगणना हुनेछ । २ स्थानमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली र सिसी क्यामेरा जडान गरिएको छ । २ दिनभित्र अन्तिम परिणाम आउने मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।

    तनहुँ १ मा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए । मंसिर ४ भएको निर्वाचनमा यो क्षेत्रमा ५४.२ प्रतिशत मत खसेको थियो । त्यतिबेला अहिलेको भन्दा १८५ मतदाता बढी थिए ।

    तनहुँ १ मा व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदानमा गरे । यो क्षेत्रमा ४२ वडा पर्छ ।
    मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेर रिक्त भएपछि उपनिर्वाचन भएको हो ।

    उपनिर्वाचनको मैदानमा ९ जना उम्मेदवार छन् । सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी हुन् ।

    नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार पनि प्रतिस्पर्धामा छन् ।

    हाम्रो नेपाली पार्टी (लौरो अभियान) उम्मेदवार विष्णु पराजुलीले उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई समर्थन गरेका छन् ।