पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।
त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार काङ्ग्रेसका जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन ।
एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक र अर्याललाई कृषि मन्त्रालयको जिम्मा दिएका छन् ।
तनहुँले यसपटक मन्त्री पाएन
गण्डकी प्रदेश सरकारमा सधै मन्त्रीकाे जिम्मेवारी पाउने तनहुँले यसपटक भने मन्त्री पाएन । काङग्रेसका तर्फबाट जीतप्रकाश आले र अशाेककुमार श्रेष्ठ मन्त्रीकाे आकाङ्क्षी थिए ।
माओवादीका हरिबहादुर चुमान भने दाेस्राे कार्यकालका लागि मुख्यमन्त्री बन्ने सहमति भएकाले यसपटक मन्त्री नबनेका हुन् ।